‘गोली नचलाएको भए सयौं मारिन सक्थे’



नेपाल समाचारपत्र
काठमाडौं
सरकारले सप्तरीको राजविराजमा भएको गोलीकाण्डपछि त्यहाँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ।

गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिना र प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिवेश लोहनीलाई फिर्ता बोलाएर प्रमुख जिल्ला अधिकारीमा अर्घाखाँचीमा कार्यरत रहेका कृष्ण कटवाललाई निमित्त प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमा एसपी अनुराग द्विवेदी पठाएको छ। त्यस्तै सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्कालाई फिर्ता बोलाएर उनको ठाउँमा एसपी रामआधार यादवलाई पठाएको छ। यता मंगलबार गृहमन्त्री विमलेन्द्र निधिले राजविराज घटनाका बारेमा सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिनुभएको छ।

तीनवटा सुरक्षा निकायका प्रमुखहरूले राजविराज घटनाको बारेमा जानकारी गराउँदै यदि प्रहरीले समयमा गोली नचलाएको भए त्यहाँ सयौं मान्छे मर्ने अवस्था भएको जानकारी गृहमन्त्रीलाई गराएका थिए।

‘मधेसी मोर्चाले चारैतिरबाट घेरा हालेर एमालेको कार्यक्रम स्थलभित्र प्रवेश गर्न खोजेको र त्यहाँ उनीहरू प्रवेश गरेको भए कल्पना गरिएभन्दा ठूलो मानवीय क्षति हुने थियो’ –राजविराज घटनाका बारेमा सुरक्षा प्रमुखहरूले गृहमन्त्रीलाई जानकारी गराएको बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।

गृहमन्त्रीले सुरक्षा निकायले चाहिनेभन्दा बढी बल प्रयोग गरेको भन्ने जिज्ञाशामा सुरक्षा निकायका प्रमुखहरूले समयमा नै सुरक्षा निकायले स्थितिलाई नियन्त्रणमा नलिएको भए कल्पनाभन्दा बाहिरको घटना हुन पुग्ने जानकारी गराएपछि गृहमन्त्री निधिले अहिलेलाई त्यहाँ कार्यरत रहेका सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेर स्थिति नियन्त्रणमा लिनुपर्ने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्