अन्तर्राष्ट्रिय जगत् चिन्तित



नेपाल समाचारपत्र
काठमाडौं
सप्तरीमा सोमबार भएको हिंसात्मक घटनाप्रति संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गर्दै सुरक्षा निकायलाई अधिकतम संयमिता अपनाउन र आन्दोलनरत दलहरूलाई अहिंसात्मक गतिविधि त्याग्न आग्रह गरेका छन्।

सप्तरी घटनाबारे काठमाडौंस्थित राष्ट्रसंघ कार्यालयले सुरक्षा निकायलाई राष्ट्रिय⁄अन्तर्राष्ट्रिय मापदण्ड अपनाउन आग्रह गर्दै राजनीतिक दलहरूलाई शान्तिपूर्ण माध्यमबाट आफ्ना गतिविधि र कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। सो घटनाबारे विज्ञप्ति जारी गर्दै राष्ट्रसंघले आगामी वैशाख मसान्तका लागि घोषित स्थानीय निकायको निर्वाचनका लागि गम्भीर र चिन्तित बनेको उल्लेख गरिएको छ।

‘नेपाली जनता लोकतान्त्रिक मार्गबाट अघि बढिरहेका बेला घोषित निर्वाचनलाई समावेशी र अर्थपूर्ण वार्ताबाट ऐतिहासिक बनाउन हामी आग्रह गर्दछौं’ –विज्ञप्तिमा भनिएको छ। त्यसै गरी अमेरिकाले सुरक्षा निकायलाई संयमिता अपनाउन आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियाबाट राजनीतिक गतिविधि अघि बढाउन दलहरूलाई ध्यानाकर्षण गराएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ– ‘सप्तरी घटनाले गम्भीर चिन्ता तुल्याएको छ, राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अंग हो, तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन।’

नेपाल सरकार र जनता ऐतिहासिक स्थानीय निकायको निर्वाचनमा जुटिरहेको देख्दा आफ्नो मुलुक उत्साहित रहेको दूतावासले जनाएको छ।

निर्वाचन संविधान कार्यान्वयन गर्ने र मुलुकका सबै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिश्चित गर्ने महत्त्वपूर्ण कदम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाली जनता लोकतान्त्रिक मार्गमा अघि बढ्दै गर्दा अमेरिका सबै नेपालीसँग सहकार्य गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।

नेकपा एमालेले शुरू गरेको मेची–महाकाली अभियानमा सोमबार अवरोध गर्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ३ जना प्रदर्शनकारीको मृत्यु भएको थियो। सोही क्रममा करिब २ दर्जन प्रदर्शनकारी घाइते भएका छन्। विगतमा भएको तराई आन्दोलनबारे चासो दिएको छिमेकी मुलुक भारतले भने सप्तरी घटनाबारे प्रतिक्रिया जनाएको छैन।

प्रतिक्रिया दिनुहोस्