सप्तरी घटनाबाट अमेरिका चिन्तित

0
Shares

काठमाडौं, नेस ।
सप्तरीको सदरमुकाममा सोमबार भएको घटनालाई लिएर संयुक्त राज्य अमेरिकाले चिन्ता व्यक्त गरेको छ । अमेरिकाको तर्फबाट नेपालस्थित अमेरिकी दुतावासले आज मंगलबार जारी गरेको वक्तव्यमा भनिएको छ– नेपालका केही क्षेत्रमा देखिएको बढ्दो अस्थिरताको सङ्केत लगायत हालै सप्‍तरीमा प्रदर्शनकारीहरूको ज्यान जाने गरी भएको झडपप्रति संयुक्त राज्य अमेरिका गम्भीर रूपमा चिन्तित छ । प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो, तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन ।

नेपाली जनताले आफ्ना लोकतान्त्रिक अधिकार व्यक्त गर्दै गर्दा हामी नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौँ । त्यसै गरी हामी सबै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गर्दछौँ ।

नेपाली जनता र नेपाल सरकार ऐतिहासिक स्थानीय निर्वाचनको तयारीमा जुटिरहेको देख्‍न पाउँदा हामी उत्साहित छौँ । संविधान कार्यान्वयन गर्ने र मुलुकका सबै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिश्‍चित गर्ने दिशामा यो एक महत्त्वपूर्ण कदम हो ।

नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढ्दै गर्दा संयुक्त राज्य अमेरिका सबै नेपालीहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ ।

Skip This