मान्छेमा सर्ने चिनियाँ बर्डफ्लुको त्रास



प्रशान्त वली, काठमाडौं
चीनका विभिन्न प्रान्तहरूमा बर्डफ्लुका कारण पछिल्लो अवधिमा ५५ जना नागरिकको ज्यान गएपछि नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँचमा कडाइ गरेको छ। चीनको हङकङ, ग्वान्जाओलगायतका स्थानमा एच ७ एन ९ नामक भाइरस भेटिएर नागरिकको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

अहिले एयरलाइन्समार्फत दैनिक सयौं नागरिकहरू चीनबाट नेपालतर्फ भित्रिने र नेपालबाट चीनतर्फ जाने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कमा उल्लेख छ। नेपालका पक्षीहरूमा बर्डफ्लु भेटिए पनि नागरिकहरूमा अहिलेसम्म नभेटिएको तर, चीनबाट मानिसहरू आवतजावत गर्दा बर्डफ्लुको लक्षण देखापर्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो।

यसैबीच, मानिसमा बर्डफ्लु भए–नभएको परीक्षण गर्न सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयको समन्वयमा ९ जना स्वास्थ्यकर्मीको टोली खटाएको छ। ती स्वास्थ्यकर्मीहरूले जिका भाइरस, स्वाइन फ्लु र इबोला भाइरसको पनि परीक्षण गर्नेछन्।

बिहानैदेखि रातिसम्म सो टिम स्वास्थ्य चेकजाँचमा खटिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ। सबै भाइरसको साझा लक्षण शरीरमा उच्च तापक्रम हुने भएको भन्दै कसैको शरीरमा उच्च तापक्रम भएको पाइए विमानस्थलको छुट्टै वार्डमा लगी चेकजाँच गरिने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो।

चेकजाँच विधि के हो भन्ने नेपाल समाचारपत्रले जिज्ञाशा राख्दा प्रवक्ता ठाकुर भन्नुहुन्छ– ‘पहिले उहाँहरू विमानबाट झर्नुहुन्छ। त्यसपछि आगमन कक्षमा स्वास्थ्यकर्मीहरूले क्रमैसँग चेकजाँच गर्नुहुन्छ। अनि बल्ल गन्तव्यस्थलतर्फ पठाउँछौं। अब चेकजाँचमा कडा निगरानी राख्ने योजना बनाएका छौं।’ विशेषतः नेपालबाट चीनका लागि ह्लासा, ग्वान्जाओ, सांघाई, बेइजिङसम्म यात्रुहरूको सोझो आवतजावत हुन्छ।

यही फागुन ६ गते कास्कीको पोखरा उपमहानगरपालिका–१८ खाल्टेमसिनामा अनुगमनका क्रममा पक्षीहरूमा बर्डफ्लु संक्रमण भेटिएको थियो। प्रयोगशालाको परीक्षणमा एच ५ एन १ भाइरस भेटिएपछि ३ सय १० वटा हाँस र कुखुरा नष्ट गरिएको पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिनुभयो। बर्डफ्लु नियन्त्रण आदेशअनुसार खाल्डेमसिनालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको पशुपक्षी विकास मन्त्रालयले बताएको छ। सो ठाउँ बस्ने मीना परियारले पालेका हाँस बिरामी परेपछि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लु रोग देखा परेको बताइएको छ। यसैबीच स्वाइन फ्लुको लक्षण देखा परेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका एक अधबैंसेको स्वास्थ्य सुधारोन्मुख भएको सो अस्पतालले बताएको छ।

प्रतिक्रिया दिनुहोस्