मोर्चाद्वारा मधेस बन्दको घोषणा



बीपी साह, काठमाडौं
सप्तरीमा सोमबार भएको गोलीकाण्डलगत्तै मधेसी मोर्चाको राजधानीमा बसेको बैठकले आज मंगलबार र भोलि बुधबार मधेस बन्द गर्ने निर्णय गरेको छ। बैठकले सो घटनाको निन्दा पनि गरेको छ।

बैठकले सरकारलाई दिइएको समर्थन फिर्ता गर्ने बारेमा सामान्य छलफल गरे पनि निर्णयचाहिँ नभएको बैठकमा सहभागी एक नेताले बताएका छन्। सोसम्बन्धी निर्णय आज बस्ने बैठकले गर्न सक्ने बताइएको छ।

संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा मोर्चाको बैठक बसिरहेका बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोन गरेर संयमता अपनाउन आग्रह गर्नुभएको थियो। सो अवसरमा मधेसी नेताहरूले घाइतेको उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए। बैठक चलिरहेकै बेलामा गृहमन्त्री विमलेन्द्र निधिले पनि फोन गर्नुभएको थियो। बैठकमा ठाकुरका अतिरिक्त, मोर्चाका अरू घटकका नेता राजेन्द्र महतो, उपेन्द यादवलगायतको पनि सहभागिता रहेको थियो।

मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष महतोले बैठक शुरू हुनु अघि नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘एमालेप्रति मधेसमा रहेको जनआक्रोश अहिले देखिएको हो। मधेसी मोर्चाले निर्णय गरेर कुनै पनि ठाउँमा एमालेलाई अवरोध गरेको छैन।’

एमालेले मधेसी जनताको माग नसुनेकोप्रति जनताले आफ्नो अधिकारको प्रयोग गर्दै एमालेको विरोध गर्दैछन्।

महतोले मधेसमा आन्दोलन जारी रहेको अवस्थामा एमालेले कार्यक्रम गर्नु सद्भाव बिथोल्ने काम भएको आरोप लगाउनुभयो। मधेसी मोर्चाले एमालेको कार्यक्रममा अवरोध गरेको सम्बन्धमा एमाले नेता रघुवीर महासेठले नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभयो– ‘लोकतन्त्रमा सबैले कार्यक्रम गर्न पाउनुपर्छ। अहिले मधेसी मोर्चाले अलोकतान्त्रिक कुरा गर्दै छ। उहाँहरूलाई आफै घाटा हुनेछ।’

प्रतिक्रिया दिनुहोस्