एमालेको मेची–महाकाली अभियानमा तनाब प्रहरीको गोलीबाट ३ को मृत्यु



शिवहरिप्रसाद भट्टराई, राजविराज
कपा एमालेले शुरु गरेको मेची–महाकाली अभियानलाई बिथोल्ने अभियानमा लागेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार साँझपख दोहोरो झडप हुँदा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।

प्रहरीको गोली लागेर मलेठ–२ का १६ वर्षीय सञ्जन मेहता र पीताम्बरलाल यादव तथा परवनी–४ का आनन्द साहको मृत्यु भएको छ। मधेसी मोर्चाले सोमबार साँझ जारी गरेको वक्तव्यमा मृतकको संख्या ४ भने पनि घाइते दिगम्बर यादवको अवस्था नाजुक मात्रै रहेको अस्पतालबाट थाहा भएको छ। गोली लागेर घाइते भएका पीताम्बरलाल र आनन्दको उपचारका क्रममा निधन भएको सप्तरी प्रहरीले जानकारी दिएको छ।

गोली लागेर गम्भीर घाइते भएकालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। शुरूमा अश्रुग्यास प्रहार गरेको भए पनि पछि आन्दोलनकारी एमालेको सभाभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा मेहताको टाउकोमा गोली लागेको थियो।

सोमबार बिहानैदेखि राजविराजलगायत विभिन्न ठाउँमा घरेलु हतियार लिएर प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको थियो। एमालेको र्याली राजविराज प्रवेश गरेपछि प्रहरीले मोर्चाका कार्यकर्तालाई छेकेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्न थालेपछि मधेसी मोर्चाका कार्यकर्ता थप उत्तेजित भई एमालेको कार्यक्रमस्थल नजिक गएपछि प्रहरीसँग झडप भएको थियो।

एमालेले राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा आयोजना गरेको सभा सकिन लाग्दा मधेसी मोर्चा र प्रहरीबीच झडप हुन थालेपछि प्रहरीले गोली चलाएको थियो। पूर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरका प्रमुख, प्रहरी नायब महानिरीक्षक रमेश भट्टराईले मधेसी मोर्चाका कार्यकर्ताले प्रहरी तथा एमालेको कार्यक्रमस्थलमा पेट्रोल बम प्रहार गरेपछि प्रहरीले बाध्य भएर गोली चलाएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

प्रहरीले पटक–पटक आन्दोलनकारीलाई सम्झाएको भए पनि उनीहरूले एमालेको सभाभित्र आक्रमण गर्ने प्रयास गर्नुका साथै प्रहरीमाथि आक्रमण गरेपछि बाध्य भएर गोली चलाएको उहाँले जानकारी दिनुभयो।

प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले जथाभावी गोली चलाउन थालेपछि भागदौडमा परेर धेरै मोर्चा कार्यकर्ताको हात खुट्टा भाँचिएको छ भने सामान्य रूपमा दर्जनौं घाइते भएको प्रहरीले जानकारी दिएको छ।

उक्त झडपमा परी २७ प्रहरीसमेत घाइते भएका छन्। प्रहरीले राजविराजमा तनाब हुने आकलन गरेपछि १ हजार ५ सुरक्षाकर्मीलाई परिचालन गरेको थियो। यता मोर्चाका सप्तरी नेता दिनेश यादवले मोर्चाको विरोध जुलुसमा एमालेका कार्यकर्ता प्रवेश गरी प्रहरीलाई उत्तेजित बनाएको आरोप लगाउनुभएको छ। उहाँले यसको जिम्मा एमालेले लिनुपर्ने बताउनुभयो।

यसअघि मधेसी मोर्चाको विरोधकै बीचमा एमालेको आमसभा सप्तरीमा सम्पन्न भएको थियो।

सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक मधेसी मोर्चाको गतिविधिलाई सामाजिक फाँसीवाद र अधिनायकवादको संज्ञा दिनुभएको थियो। एमालेको मेची–महाकाली राष्ट्रिय अभियानलाई लक्षित गरी मोर्चाले आयोजना गरेको गतिविधि सामाजिक फाँसीवाद र अधिनायकवादको नमुना भएको उहाँले आरोप लगाउनुभयो।

एमाले अभियान कुनै दल र व्यक्तिविरुद्ध नभई मधेस र पहाडका नाममा जनताबीच दूरी बढाउन खोज्नेविरुद्ध भएको बताउनुभयो। उहाँले एमालेको अभियान राष्ट्रघातीविरुद्ध रहेको पनि दाबी गर्नुभयो।

वर्तमान संविधान मधेसी, आदिवासी जनजाति, महिला, अल्पसंख्यक सबैको पक्षमा रहेको दाबी गर्नुहुँदै उहाँले तोकिएको समयमा तीनै तहको निर्वाचन सम्भव नभए संविधान कार्यान्वयन नहुने र देशले संवैधानिक जटिलता भोग्नुपर्ने बताउनुभयो।

एमाले अध्यक्ष ओली, बरिष्ठ नेता माधवकुमार नेपाल र केन्द्रीय सदस्य लालबाबु यादवले सभालाई सम्बोधन गरेका थिए। औद्योगिक क्षेत्रभित्र एमालेको आमसभा चलिरहँदा बाहिर भने मधेसी मोर्चाका कार्यकर्ताहरू प्रहरीसँग दोहोरो झडप गरिरहेका थिए। एमालेको कार्यक्रम सम्पन्न भएपछि शीर्ष नेताहरू बाहिरिने क्रममा मोर्चाका कार्यकर्ताले करिब १ दर्जन गाडीसमेत तोडफोड गरेका थिए।

प्रतिक्रिया दिनुहोस्