नारी चित्कारको आवाज विलीन नारी दिवस



प्रकाशमान शिल्पकार

हेरक वर्ष मनाउँदै आएको अन्तर्राष्ट्रिय नारी दिवस भोलि मार्च ८ का दिन नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले यस दिवसका अवसरमा देशभर र्याली, गोष्ठी र अन्तरक्रिया गर्दै छन्। नेपालमा यो दिवस केही दशकदेखि मनाउन थालिएको हो। तर दिवस मनाइरहँदा नेपाली महिलाहरूमा कति परिवर्तन भयो त ? के हामीले त्यसको बारेमा कहिल्यै सोचेका छौँ ? नारी दिवस मनाउँदैमा नारीमा परिवर्तन आउने हो त ? के हामीले मनाउने दिवसले नेपाली महिलाले प्राचीन कालदेखि भोग्दै आएका पीडाहरूको सम्बोधन गर्न सकेको छ त ?

महिला दिवसको इतिहासलाई केलाउने हो भने, १९०८ मार्च ८ का दिन सामाजिक विचारधाराका अमेरिकी महिलाले सिकागो शहरमा राजनीतिक र आर्थिक क्षेत्रमा समान अधिकारको माग लिएर हडताल, जुलुस प्रदर्शन गरे। महिला हक–अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई महत्वपूर्ण दिनका रूपमा मान्ने गरिएको हो। विश्वमै लामो समयदेखि लैंगिक समानताका लागि महिलाहरूले संघर्ष गरे भने नेपालमा पनि महिलाका सन्दर्भमा ठूला–ठूला राजनीतिक संघर्ष र परिवर्तनहरू भए। तर, आजसम्म नेपालमा महिला उत्पीडन भयावह अवस्थामै रहेको छ। महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेद्भाव र असमानताहरू कायमै छन्।

महिलाहरूको अधिकारका लागि संघर्ष थालनी गरेको शताब्दी नाघिसक्दा पनि आज महिलाहरू अपहेलित भएर बाँच्नुपरिरहेको अवस्था छ। आज पनि महिलालाई बोक्सीको आरोपमा अपमानित ढंगले हत्या गर्नेजस्तो कार्य रोकिन सकेको छैन। भोलि नारी दिवसका दिन नारी–पुरुष समानताका लागि नारी आवाज बुलन्द पार्दै चिच्याउँछन्, तर त्यो चिच्याहटको कोलाहलमा नेपाली महिलाले सती प्रथाका नाममा जिउँदै चितामा जलेर आफ्नो देह भष्म गर्ने गरेको विगतलाई कतै स्मरण गरेको देखिँदैन। त्यो आततायी सती प्रथाको अन्त्य भई नेपाली नारीहरूले उन्मुक्ति पाएको २५ आषाढको दिनलाई यहाँ स्मरण गरेको देखिँदैन। सती प्रथाको अन्त्य भएको यो दिनलाई कुनै न कुनै रूपमा स्मरण गर्नु हाम्रो कर्तव्य होइन र ? महिला हिंसाको चरम रूपको सती प्रथा २५ आषाढ १९७७ सम्म कायम रहेको थियो।

राणा शासकका प्रथम राणा प्रधानमन्त्री जंगबहादुरले वि.सं. १९१० मा सती प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनाए। उनले बनाएको नियममा १६ वर्षभन्दा कम उमेरकाले, ५ वर्षभन्दा कम उमेरका छोराछोरी हुनेले, दुई जीउ भएकाले, दासीहरूले सती जान नपाउने उल्लेख गरिएको थियो। त्यसबाट नेपाली विधवा महिलाहरूले केही भए पनि राहत पाए। तर अरु विधवा सती जाने प्रचलनचाहिँ जस्ताको तस्तै बस्यो। तत्पश्चात् पनि महिलाहरू चितामा जल्नुपर्ने बाध्यता रहिरह्यो र सती प्रथाको अन्त्य हुन सकिरहेको थिएन। यो आततायी प्रथाले निरतरन्ता पाई नै रह्यो।

आततायी सती प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनेको ६० वर्षपछि राजा त्रिभुवनको राज्यकाल वि.सं. १९७७ आशाढ २५ गते (८ जुलाई १९२०) देखि लागू हुने गरी चन्द्र शमशेरले सतीप्रथा बन्द गरिदिएपछि कानुनीरूपमै यो प्रथा नेपालमा बन्द भयो। यसरी नारीले चितामा जिउँदै डढ्नुपर्ने जस्तो अमानवीय कार्यबाट उन्मुक्ति पाएको दिनलाई चाहिँ हामीले किन स्मरण नगर्ने ?

आततायी सती प्रथाको कारण कैयौं निर्दोष महिलाले नचाहँदा नचाहँदै पनि लोग्नेको शवसँगै जिउँदै चितामा जल्नुपर्यो। जिउँदै जलेर महिला हिंसाको चरम यातनाको सिकारमा उनीहरूले आफ्नो जीवनको आहुति दिनुपर्यो। ती निर्दोष महिलाहरू जबर्जस्ती जिउँदै आगोमा जल्न बाध्य भए। यो आततायी महिला हिंसाको अन्त्य भएको दिनलाई नेपाली महिला मुक्तिको रूपमा मनाउनुपर्दछ। तर दुर्भाग्य, सती प्रथाको अन्त्य भएको र महिलाले मुक्ति पाएको दिन भने हामीले बिर्सिएका छौं। राज्यले पनि यस दिनलाई कुनै औपचारिक मान्यता दिएको पाइँदैन।
नारी उन्मुक्तिको दृष्टिले यस दिनको विशेष महत्व छ। त्यसैले यस दिनलाई ऐतिहासिक दिनका रूपमा आत्मसात् गरी सती प्रथा उन्मूलनकर्ता तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरलाई सम्झन नसक्नु भनेको नेपाली नारी उन्मुक्ति र नारी स्वतन्त्रताको अपमान गरेको हो भन्दा अन्यथा नठहर्ला। अनि नेपाली नारीले आततायी सती प्रथाबाट उन्मुक्ति पाएको दिनलाई स्मरण नगरी मनाउने ८ मार्चको यो नारी दिवसमा नेपाली मौलिकता र असमान नेपाली नारीको चित्कारको आवाज विलीन भएको छ भन्दा अन्यथा ठहरिनेछैन।

प्रतिक्रिया दिनुहोस्