सप्तरीमा त्रास एमाले टोली पुग्दै, मधेसी मोर्चाको टोली लाठी लिएर पर्खिंदै



नेपाल समाचारपत्र
राजविराज
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई मधेसमा बिथोल्ने उद्देश्यले आह्वान गरेको बन्द कार्यक्रमको पूर्वसन्ध्यामा आइतबार राजविराजमा मसाल र लाठी जुलुस प्रदर्शन गरेका छन्।

एमालेको मेची–महाकाली अभियानअन्तर्गत सोमबार राजविराजमा आमसभा गर्ने कार्यक्रम छ। त्यसलाई बिथोल्ने उद्देश्यले मोर्चाले सोमबारै बन्द कार्यक्रम, लाठी जुलुस र विरोध सभा कार्यक्रमको घोषणा गरेको छ।

एमालेको कार्यक्रम रोक्नका लागि मोर्चाले गाउँगाउँबाट कार्यकर्तालाई सदरमुकाममा बोलाई लाठी र मसाल जुलुस प्रदर्शन गरेको हो। सोमबार आन्दोलनमा १० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवको दाबी छ।

एमाले अभियानको विरोधमा मोर्चाको गतिविधि तीव्र बनेपछि जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।

स्थानीय प्रशासनले नगरभित्र प्रवेश गर्ने सवै नाका तथा एमाले पार्टी कार्यालय, नेताका घर भएका क्षेत्रमा चेकजाँच, निगरानी र सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

यसैबीच एमालेले मेची–महाकाली अभियानलाई लिएर मोर्चा कार्यकर्ताबाट हुनसक्ने अवरोध र सम्भावित झडपलाई ध्यानमा राखी सप्तरी प्रवेश गर्ने रुट र कार्यक्रमस्थल परिवर्तन गरेको छ। यसअघि एमालेले राजविराजको राज रंगशालामा आमसभा गर्ने तयारी गरेको थियो।

एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले झडपको सम्भावनालाई ध्यानमा राख्दै कार्यक्रम स्थल राजविराजवाट ३ किलोमिटर टाढा मलेठ गाविसस्थित औद्योगिक क्षेत्रमा सारिएको बताए। यस्तै बजार क्षेत्रबाट प्रवेश गर्ने पुरानो रुट परिवर्तन गरी राजमार्ग हुँदै कार्यक्रमस्थल प्रवेश गर्ने नयाँ रुट निर्धारण गरिएको उनको भनाइ छ। यद्यपि मोर्चाले सो ठाउँमा पनि कार्यक्रम गर्न नदिने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्