एमाले मधेसमा मोर्चा पहाडमा



कपिल काफ्ले

संसद्को दोस्रो ठूलो दल नेकपा एमाले मेची–महाकाली अभियानमा लागेका बेला गलत तत्वले मौका पाउने हुन् कि भन्ने चिन्ता बढेको छ। नेपालको सामाजिक सद्भाव भड्काएर धमिलो पानी बनाउने र माछा पार्ने अराष्ट्रिय तत्वले नेपालीलाई प्रयोग गर्ने सम्भावनालाई नकार्न सकिन्न। एमाले र मोर्चाका नेताहरूको अभिव्यक्ति सुन्दा यस दिशामा दुवैका नेताले जुन स्तरमा ध्यान दिनुपथ्र्यो, दिन सकेको देखिन्न।

पहाडी नागरिकको बाहुल्य रहेको पार्टी एमालेले यस बेला नेपालमा सामाजिक सद्भाव कायम गर्न मधेसी मोर्चालाई पहाडमा स्वागत गर्ने तत्परता छ⁄छैन, चिन्तन गर्नु आवश्यक छ। राजधानी काठमाडौंमा चाहिँ यस प्रकारको तत्परता रहेको प्रमाणित भइसकेको छ, पोखरामा यसको अभ्यास नभए पनि स्वागत गरिने संकेतहरू देखिएका छन्। ताप्लेजुङदेखि दोलखा, बझाङ, जुम्ला आदि पहाडी जिल्लामा मधेसी मोर्चाका कार्यकर्तालाई स्वागत गरिएला कि नगरिएला, यसै भन्न सकिने अवस्था छैन। तर, नेपाल राज्यको कुनै पनि नागरिकले आवागमन, बसोवास र शान्तिपूर्ण विरोध प्रदर्शनको जो अधिकार पाएको छ, त्यो मुलुकभर लागू हुने प्रावधानका साथ प्राप्त छ। एमाले तराई झरेजस्तै मधेसी मोर्चा पहाड उक्लिन स्वतन्त्र छ। एकले अर्कालाई निषेध गर्ने मानसिकता अलोकतान्त्रिक हो।

एमालेलाई पूर्व–पश्चिम यात्रामा अवरोध पुर्याउने मोर्चाका केही नेताहरूको अभिव्यक्ति अलोकतान्त्रिक त छ नै, साथमा असभ्यताको परिचायक पनि छ।
फागुन २१ मा मेचीको झापादेखि शुरु भएको एमालेको अभियान यात्राको भोलिपल्ट बीबीसी नेपाली सेवामा अन्तर्वार्ता दिँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता बृजेशचन्द्र लालले संसद्मा मधेसको मुद्दा निषेध गर्ने एमालेलाई मधेसमा जनताले निषेध गर्ने बताए। तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष लालले यस समयमा एमालेले तराईमा आएर आफ्नो प्रभाव जमाउने काम गर्नु द्वन्द्व भड्काउनु मात्र हो, एमालेसँग असन्तुष्ट जनता स्वतस्फूर्त सडकमा निस्केर उसको विरोध गर्छन् भने त्यसको जिम्मेवारी पनि उसैले लिनुपर्छ भने। वैशाख ३१ गतेका लागि स्थानीय निकायको निर्वाचनको मिति घोषणा भएपछि लाल र उनका साथीहरूले पहिला संविधान संशोधन गर अनि मात्र निर्वाचनमा जान दिन्छौं, अन्यथा विरोध जारी रहन्छ भन्दै आएका छन्। यसै बीच एमालेको कार्यक्रम असफल बनाउनकै लागि मधेसी मोर्चाका संयोजक सतीशकुमार लाल दासले एक विज्ञप्ति जारी गरी २५ गते धनुषामा आमहडताल आह्वान गरेको जनाएका छन्। झापाबाट शुरु भएको एमालेको मेची–काली अभियान २५ गते नै जनकपुर पुग्ने कार्यक्रम छ।

उता, एमालेले आफ्नो मेची–महाकाली अभियान बिथोल्न आपराधिक ढंगका हमला हुन थालेको भन्दै सरकार तथा मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ। साथै, मधेसी मोर्चाका शीर्ष नेताहरूलाई त्यस्ता गतिविधि रोक्न आग्रह गरेको छ। अभियानको पहिलो दिनको समीक्षा गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले दमकमा आयोजित पत्रकार सम्मेलनमा पहिलो दिनमै डेढ लाख जनता सहभागी भएको बताए। मोर्चाले भने धनुषामा जस्तै राजविराजलगायतका स्थानमा बन्द र हड्ताल आह्वान गरिसकेको छ। एमालेले भने बन्द–हड्ताल फिर्ता लिन आग्रह गर्दै अटेर गरे बन्द तोडेर एमालेको अभियान मधेसमा जारी रहने अडानका साथ वक्तव्य प्रकाशित गरेको छ।

पहिलो दिनको अभियानलाई दमकमा समापन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अभियान कुनै राजनीतिक दलविरुद्ध लक्षित नभएको भन्दै मधेसका जनतालाई एमालेको दृष्टिकोण बताउन केन्द्रित रहेको प्रस्ट पारे। उनले कसैका अवरोधबाट एमाले डराउने पार्टी नरहेको बताए। एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले मधेसी जनजाति सबैको पक्षमा संविधानले अधिकार दिए पनि गलत मनसाय राख्ने र नेपाल असफल बनाउन चाहनेले गलत प्रचार गरेकाले एमालेले मेची–महाकाली अभियान चलाएको बताए। यसबीच ‘मैदान नछाड्ने तर, भिड्न नजाने नीति एमालेले राखेको देखिन्छ। एमालेले मधेसका नेता–कार्यकर्तालाई मैदान नछाड्न र संयमित भएर अभियानको प्रचार–प्रसारमा केन्द्रित हुन निर्देशन दिएको छ। एमालेको नीति मुठभेड गर्ने नरहेको र आफ्ना धारणा मधेसी जनतामा लैजान कसैले रोकेमा त्यसको प्रतिवाद गर्ने नीति रहेको जनाइएको छ। मधेस र मधेसी मोर्चा अलग–अलग भएकाले मोर्चाका एजेन्डालाई मधेसी जनताका एजेन्डाका रूपमा लिन नहुने एमाले नेताहरूको टिप्पणीलाई गलत भन्न मिल्ने ठाउँ पनि छैन। मधेसी मोर्चाका एजेन्डामा एमाले असहमत भएको तर मधेसी जनताको मागको पक्षमा आफू रहेको दाबी उसको छ। यस दाबीलाई प्रमाणित गर्न र आफू मधेसी मोर्चाको धम्कीबाट विचलित नभएको सन्देश दिन पनि एमाले मधेसका गाउँ–गाउँ पस्नु आवश्यक छ, कम्तीमा पूर्व–पश्चिम राजमार्गको यात्रा गर्नु त ढिला नै भइसकेको थियो।

यसबीच एमालेले निकै ढिलो गरी निर्णय लिए पनि २० मधेसी नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेर सही निर्णय लिएको छ। यस निर्णयले मेची–महाकाली अभियानलाई सकारात्मक योगदान दिने निश्चित छ। उता, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने एमालेको अभियान गलत समयमा भएको भन्दै आलोचना गरेका छन्। यद्यपि अब सही समय आयो। एमाले, नेका र माआवादी केन्द्रहरू तराई झरे हुन्छ भनेर आमन्त्रण गर्ने सोच उनले कहिल्यै बनाउने सम्भावना थिएन। किनभने, मधेसमा मोर्चाका नेताहरूको एकमात्र राज चलोस् र तराईका जनताले राजनीतिक विकल्प नै नपाऊन् भन्ने मनस्थिति तमलोपा अध्यक्ष ठाकुर र उनका साथीहरूमा देखिन्छ।

तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गरेका छन्। मधेसका नेताहरूको भनाइ छ– संविधान संशोधन नगरी स्थानीय निकायको निर्वाचन गर्दा राष्ट्रिय सभाको गठन, राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन आदिमा प्रत्यक्ष असर पर्छ, फेरि पनि पहाडी मूलकै व्यक्तिको हातमा सत्ता रहन्छ। नेपालको सत्तामा मधेसी मूलका व्यक्तिको नियन्त्रण हुने गरी स्थानीय निकायको संरचना बन्नुपर्छ र यसका लागि जनसंख्याको आधारमा तराईमा स्थानीय निकाय बढाउनुपर्छ।

लोकतान्त्रिक अभ्यासमा जनसंख्याको आधारमा निर्वाचनका एकाइहरू गठन गर्नुपर्छ भनेर माग गर्नु अस्वाभाविक होइन। मधेसी मोर्चाको मागप्रति लचकता अपनाउने र उदात्त चिन्तन राख्ने मानसिकता आजका सत्ताधारीहरूमा हुनुपर्छ। तर, एमालेको मेची–महाकाली अभियानलाई हिंसात्मक ढंगले विरोध गर्ने मोर्चाको चिन्तन अलोकतान्त्रिक मात्र होइन, अराष्ट्रिय पनि छ। विगतमा तराईबाट छानी–छानी पहाडी मूलका नागरिकलाई लखेट्ने अराष्ट्रिय चिन्तनलाई पहाडले कहिल्यै प्रतिशोधको रूपमा लिएन। पहाड र काठमाडौंमा त्यस बेला कुनै मधेसी नागरिकलाई कसैले छुँदासम्म छोएन। अरु बेलाको भन्दा बढी सम्मानको व्यवहार पाए तराईवासी नागरिकले त्यो बेला। यसको एकमात्र कारण थियो– पहाडी नागरिक जातीय सद्भाव नभाँडियोस् भन्नेमा सजग थिए। २०६३–६४ को मधेस आन्दोलनप्रति ज–जसले गौरव गरे पनि तराईबाट सर्वसाधारण पहाडीलाई खेद्ने कार्यलाई कदापि राम्रो भन्न सकिन्न। मधेस आन्दोलन १ मा तत्कालीन माओवादी कार्यकर्तासँग भएको भिडन्तजस्तै एमाले र मोर्चाबीच पुनः भिडन्त भएर मुलुक रक्तपाततिर जाने हो कि भन्ने चिन्ता आमनागरिकमा बढिरहेको छ। यस चिन्तालाई हटाउने गरी एमाले र मोर्चाका नेताहरू एकै विज्ञप्तिमार्फत प्रकट हुन सके जनताले दुवैलाई असीम आशीर्वाद दिनेथिए।

प्रतिक्रिया दिनुहोस्