नेपाली अर्थतन्त्रमा युवाको भूमिका



प्रवीण ढकाल

नेपालमा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षसम्मका व्यक्तिलाई युवाका रूपमा व्याख्या गरेको छ। ‘साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवावर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेका हुन्छन्, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ भनेर नीतिको पृष्ठभूमिमा उल्लेख गरिएको छ। नीतिले युवालाई राष्ट्रनिर्माणका साधनका रूपमा परिभाषित गरे पनि युवावर्ग उदासीन मानसिकता एवं अनेक बाध्यताका कारण राष्ट्रनिर्माणमा अग्रसर भैहाल्ने अवस्था भने आइसकेको छैन, जसको प्रत्यक्ष–अप्रत्यक्ष असर नेपालको विकास निर्माण र अर्थतन्त्रमा प्रस्टसँग झल्किरहेको छ।
नेपालको अर्थतन्त्र दिनानुदिन धराशयी बन्दै गइरहेको छ। भनिन्छ, व्यापक प्राकृतिक स्रोत र अथाह युवाशक्ति (१ करोड ६ लाख) भएर पनि सीमित पुँजीका कारण हाम्रो अर्थतन्त्र सही दिशा र गतिमा अघि बढ्न सकिरहेको छैन। तर यथार्थमा समस्या पुँजीमा नभई हामीमा छ। यस सन्दर्भमा म नेपालजस्तै भौगोलिक बनावट भएको मुलुक जापानको उदाहरण प्रस्तुत गर्न चाहन्छु।

उन्नाइसौं शताब्दीको उत्तरार्धमा जापान खुल्ला अर्थतन्त्रमा परिणत भएपछि पश्चिमी शक्ति र जापानबीच जन्मेको खाडलको प्रमुख कारण जापानको बाँकी विश्वसँग रहेको ऐतिहासिक विच्छेद थियो। तत्काल कृषि प्रविधिको विकाससँगै डोरिएको कृषि क्रान्तिले खाडल पुर्न उल्लेखनीय भूमिका निर्वाह गर्यो। सन् १९५० को शुरुवातदेखि ७० को दशकको प्रारम्भसम्म दोस्रो विश्वयुद्धपश्चात् जापानले गरेको आर्थिक चमत्कार विशेष सरकारी नीति र क्रान्तिकारी घटनाहरूबाट मात्र प्रेरित थिएन। युवाशक्तिको अथाह मेहनत र कठोर तपस्या समृद्ध जापान निर्माणको आधारशिलाको रूपमा रह्यो। जहाँ आज पनि श्रमिकहरू निरन्तर १८ घन्टासम्म काम गर्छन्।

त्यस्तै विश्वअर्थतन्त्रमा निरन्तर फड्को मारिरहेको चीनले अरु विकसित राष्ट्रलाई कडा चुनौती दिँदै विकास निर्माणका कामलाई समेत दिनको तीन ‘सिफ्टमा बाँडेर सम्पादन गरिरहेको छ, जहाँ प्रस्टरूपमा युवाशक्ति नै साधनका रूपमा परिचालित छन्।

नेपाली अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउनका निम्ति हामी युवाले मौलिक उपाय ठम्याउने बेला आएको छ। हामीले वरदानस्वरूप पाएको प्राकृतिक स्रोतको समुचित उपयोग गर्दै मुलुकमै नवीनतम प्रयोगहरू गर्दा नतिजा सुध्रिन सक्छ। आफू र आफ्नो समाजमा अवसरको खोजी गर्दै कृत्रिम अवसरको लोभलालचमा परेर विदेश पलायन हुने क्रममा कमी ल्याउन हामी युवाले नै हातेमालो गर्नुपर्छ। तर समस्या हामीमाझ आज पनि जीवितै छ। न त नेपालको राजनीतिले युवालाई श्रमका लागि मार्गप्रशस्त गर्यो, न त प्रोत्साहन नै ? भिन्न–भिन्न पेसाका मानिसद्वारा नै समाज सिर्जित हुन्छ र त्यहाँ सबैको कामको सम्मान रहन्छ भन्ने कुरालाई हाम्रो समाजले आजको मितिसम्म पनि आत्मसात् गर्न सकेको छैन, जसका कारण हामी युवामध्ये अधिकांश खाडी गएर अनेक श्रम गर्छौं तर आफ्नै मातृभूमिमा गर्न सक्ने आँट हामीमाझ छैन। विकसित राष्ट्रहरूमा गएर कहलिएका विश्वविद्यालयमा अध्ययन परेपश्चात् गरिने रोजगारको अनुभवका कारण हामी राष्ट्रका अमूल्य सम्पत्ति भइसकेका हुन्छौं। त्यसकारण अब आफ्नै राष्ट्रनिर्माण गर्ने आँट गर्न सक्नुपर्यो।

राज्यले शिक्षामा गरेको लगानीको उपादेयता जाँच्ने कडंी विद्यार्थीको उत्तीर्ण दर भइदिँदा हाम्रो शिक्षा नीति परीक्षाको तयारी गर्नका लागि भयो। सबैजसो ठाउँमा प्राविधिक सीपमूलक शिक्षा वा सेवामूलक शिक्षाको चर्चा चुलिँदा उत्पादनमूलक शिक्षाबारेको धारणा गौण बन्न पुग्यो। परिणामस्वरूप देशको बेरोजगारी दर ह्वात्तै बढ्यो र सोको असर अर्थतन्त्रमा पर्यो। हामी युवाको जोड अबका दिनमा उत्पादनमूलक शिक्षा र क्षेत्रमा हुनु जरुरी छ।
अहिलेको खडेरी लागेको अर्थतन्त्रलाई हामीले अवसरको प्रस्थानविन्दुका रूपमा बुझ्नुपर्छ। हामी युवामा उदासीन मानसिकता र नकारात्मकता यतिसम्म गहिरिँदै गयो कि अवसरलाई पनि हामीले देशको लाचारीपन, गरिबीसँग जोड्दै दुःखको विम्बजडित दृष्टिले हेर्न थाल्यौँ। यहाँको प्राकृतिक सौन्दर्यताको उपहास गर्दै विदेशी भूमिका कृत्रिम पर्यटकीय स्थलमा रम्न थाल्याँै। आफ्नै देशमा छरिएर रहेका मनोरम स्थलको महत्व र तिनमा रहेको सम्भाव्यताप्रति पटक्कै ध्यान दिएनौँ। हामी युवाले पर्यटनसँग जोडिएका यावत् पक्षहरूलाई गतिशीलता प्रदान गर्न सके यसले नेपाली अर्थतन्त्रको सर्वाङ्गीण विकासमा टेवा पुग्ने थियो।

कृषि क्षेत्रमा लगानी र आधुनिक प्रविधिको मद्दतमा गरिने थुप्रै खाद्यान्नको खेती युवाका लागि आकर्षण बन्न सक्छ। पहाडको जुम्लादेखि तराईसम्म गरिने धानखेतीले आधा नेपालीको छाक टर्दैन। सन् २०१६ को जुलाईदेखि डिसेम्बरसम्म १४ अर्ब ३८ करोडको चामल आयात गरेको तथ्याङ्कलाई बिस्तारै शून्यमा झार्दै निर्यातमा लान हामीले पहलकदमी लिनै पर्छ। गाईपालन, कुखुरापालन, अस्ट्रिचपालन, माछापालन सामूहिक लगानीमा शुरु गर्दै दूधजन्य पदार्थ, माछा मासु, अण्डामा निर्यातमुखी बनौँ। कृषिसँगसँगै उत्पादन, प्रशोधनका निम्ति उद्योग कालकारखाना सकेको स्केलअनुसार खोल्दै कालान्तरमा खनिज पदार्थको उत्खनन एवं बजारीकरणमा सरिक होऔँ। प्राविधिक युवाहरूले ऊर्जाको क्षेत्रमा देशविदेशका नवीनतम आविष्कार र पाविधिका माध्यमबाट लघु जलविद्युत् स्थापना र सञ्चालन गरेर ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान गर्न सक्छन्।

नेपालमा यथेष्ठ मात्रामा पाइने जडीबुटीको संकलन, प्रशोधन र व्यापारमा युवाशक्तिको सहभागिताका साथ उचित व्यवस्थापन भए हामीलाई पर्याप्त बजार भारत र चीन आफै हुन सक्छन्। विश्वमा अधिक कृषि उत्पादन गर्ने मुलुकका बीचमा रहेर पनि परनिर्भर हुनु पटक्कै राम्रो कुरा हैन।

अवसर खोज्न टाढा गैरहनुपर्दैन। आवश्यकताका मौलिक पहिचान र श्रममा विविधता खोज्नुपर्यो। आज श्रमबजारमा एउटा विकसित राष्ट्रलाई चाहिनेभन्दा निकै कम इन्जिनियर उत्पादन हुँदा पनि अधिकांश बेरोजगार छन््। अर्थतन्त्र कमजोर रहेको देशमा दिनानुदिन सेवामूलक शिक्षामा युवाहरू आकर्षित भइरहनु गलत हो। समयको माग र भोलिको बजारको चेत राख्दै युवावर्ग अधिक मेहनतका साथ सिर्जनशील एवं उत्पादनमूलक क्षेत्रमा अग्रसर भए देशको मुहार फेरिन समय लाग्दैन।

प्रतिक्रिया दिनुहोस्