राजधानीमै अपहरणकारी र प्रहरीबीच गोली हानाहान



नेपाल समाचारपत्र
काठमाडौं
राजधानीको स्वयम्भू भगवानपाउनजिकै प्रहरी र अपहरणकारीबीच शनिबार गोली हानाहान भएको छ। सो क्रममा प्रहरीको गोली लागि एक अपहरणकारी घाइते भएको र तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीको महानगरीय अपराध महाशाखाले जनाएको छ।

सो समूहले गत बिहीबार नुवाकोट घर भई काठमाडौं बस्दै आएका तीन जनालाई अपहरण गरी परिवारसँग ६ लाख ५० हजार फिरौती रकम माग गरेको थियो। प्रहरीका अनुसार अपहरणकारीले मनदोर्जे तामाङ, विशाल तामाङ र नाङ्लुङ तामाङलाई गत बिहीबार अपहरण गरी २० गते उनीहरूको परिवारलाई फोन गरेर ६ लाख ५० हजार फिरौती मागेका थिए।

सो कुराको जानकारी पाएपछि महाशाखाको प्रहरी टोलीले शनिबार अपहरणकारीलाई पक्राउको प्रयास गर्दा अपहरणकारी समूहले गोली प्रहार गरेको थियो।

प्रहरीले प्रहार गरेको गोली लागेर नुवाकोटका जीवन लामा भन्ने दुर्गाबहादुर तामाङ घाइते भएका छन्। उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। अपहरणकारी समूहका सचिन खवास र वीरबहादुर तामाङलाई समेत प्रहरीले घटनास्थलबाट पक्राउ गरेको छ। अपहरणकारी आधा दर्जनभन्दा बढी भए पनि उनीहरू भागेको र प्रहरीले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्