गृह निर्माणमा वास्तुविज्ञानको महत्व



मनिष सापकोटा

गृह निर्माण होस् या अन्य कुनै निर्माण कार्य होस्, वास्तुको प्रभाव प्रत्येक निर्माण कार्यमा, स्थानमा, वातावरणमा रहन्छ भन्ने कुराको वैज्ञानिक तथ्यहरु प्रमाणित भएर त्यसको अवलम्बन प्रत्येक दिन विश्वका विभिन्न स्थानमा भइरहेको छ। त्यसको प्रमुख कारण हो वास्तुशास्त्रको प्राकृतिक एवं वैज्ञानिक तथ्यहरु, जुन ऋषि–महर्षिहरुको लामो खोज, अनुसन्धान, ध्यान एवं योगबलका कारण प्रतिपादित भएको थियो।

यस वास्तु विज्ञानलाई सबैले ग्रहण गरेमा प्रत्येक व्यक्ति, परिवार, समाज, सम्प्रदायको समृद्धि एवं वैभव प्राप्ति हुने कुरा बताइएको छ। कुनै पनि बासस्थान एवं पर्यावरणमा प्रकृति, प्रकृतिको घटक पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशबीच समन्वय मिलाउँदै प्राकृतिक घटकहरुको शक्ति सन्तुलन गर्ने विज्ञान वास्तु विज्ञान हो। वास्तुको वैज्ञानिक आधार भनेको प्रकृति, वातावरणमा रहने पञ्चतत्व, पृथ्वीको चुम्बकीय तरंग एवं गुरुत्वाकर्षण शक्ति हुन्। त्यति मात्र नभएर हाम्रो शरीरमा रहने चुम्बकीय ध्रुव, ऊर्जाशक्ति, सतह, उचाइ, ज्यामितीय आकार, चुम्बकीय दिशा, भौगोलिक दिशा, अंश विश्लेषण, प्राकृतिक रंग, सौर्यऊर्जा, पृथ्वीको सूर्यलाई परिक्रमा गर्ने विशेषता आदि पनि यसका आधार हुन्।
जीवनमा कुनै पनि व्यक्तिले घर निर्माण गर्नु नेपाली समाजमा महत्वपूर्ण उपलब्धि मानिन्छ। किनकि गृह निर्माण धेरै वर्षको मेहनत एवं पौरखबाट मात्र सम्भव रहन्छ। यदि त्यही कार्य नै गलत भएमा पश्चात्तापबाहेक अरु केही हुँदैन। त्यसैले वास्तुअनुसार गृह निर्माण गर्नु सान्दर्भिक रहन्छ। घरको जग खन्नेदेखि झ्यालढोका राख्ने एवं आन्तरिक सजावटसम्म वास्तुशास्त्रअनुसार गरिन्छ। घरमा काम गर्ने मिस्त्री एवं ज्यामीलाई खुशी बनाएपछि मात्र वास्तु पूर्ण हुन्छ।

वास्तुअनुसार बनाइएको शयन कक्ष, स्नान कक्ष, भान्सा कक्ष, भोजन कक्ष, बैठक कक्ष, अतिथि कक्ष, अन्न भण्डार, नगदकोष कक्ष, भर्याङ आदिले जीवनका आयामहरुलाई सकारात्मक बनाउने हुन्छ। तसर्थ यस्ता यावत् कुराहरुको सन्तुलन मिलाउनका लागि यहाँ केही बुँदाहरु उल्लेख गरिएको छ।

शयन कक्षः घरमूलीको शयन कक्ष घरको दक्षिण–पश्चिममा हुनुपर्दछ। सुत्ने समयमा सिरानी दक्षिण दिशा र पैताला उत्तर दिशामा पारेर सुत्नुपर्दछ। विद्यार्थीले पूर्व दिशाको कोठामा पूर्व सिरानी राखेर सुत्नुपर्छ। शयनकक्षको विशेष सरसफाइ पनि गरिनुपर्छ। शयनकक्षमा खानेकुरा खानुहुँदैन, जुठो गर्नुहुँदैन। प्राकृतिक वातावरणको दृश्य झल्किने तस्वीर राख्न सकिन्छ भने हिंस्रक प्राणी एवं युद्ध आदिको तस्वीर राख्नुहुँदैन। मृतव्यक्तिको फोटो शयन कक्षमा नराखेकै शुभ हुन्छ। शयन कक्षमा देवीदेवताको फोटो पनि राख्नुहुँदैन।

स्नान कक्षः स्नानकक्ष जहिले पनि पूर्व दिशामा बनाउनुपर्दछ। स्नान कक्ष र शौचालय सँगै बनाउनुहुँदैन। आजकाल स्थान नपुग्दा एवं मितव्ययी तरिकाले शौचालय र स्नानकक्ष पूर्व–उत्तरमा बनाएको भेटिन्छ, जुन वास्तुविज्ञानअनुसार घातक रहन्छ। स्नानकक्ष र शौचालय उचित स्थानमा भएमा शान्ति, ऊर्जा प्रवाह अनुकूल एवं रोगव्याधिको खतरा हुँदैन। पूर्व–उत्तरमा स्नानकक्षको निकास पाइप राखिनुपर्छ। शौचालय पश्चिम दिशामा राख्नुपर्छ अथवा उत्तर–पश्चिममा राख्नुपर्छ। सावर र धाराहरु उत्तरी भित्तामा राखिनुपर्छ। ऐना पनि उत्तरी भित्तामा राखिनुपर्छ। गिजर पूर्व–दक्षिण दिशामा राख्नुपर्छ। बाथ टब पश्चिममा राख्नुपर्छ भने मुख धुने वास बेसिन उत्तर–पूर्वमा राख्नुपर्छ। झ्याल वा भेन्टिलेटर पूर्व वा उत्तरमा राख्नुपर्छ। ओभरहेड ट्यांकी दक्षिण–पश्चिममा राख्नुपर्छ।

भान्छा घरः भान्साकोठा दक्षिण–पूर्वमा बनाउनुपर्छ। यो भान्साकोठा पूजाकोठा, शौचालय र सुत्ने कोठाको माथि वा तल दुवै स्थानमा बनाउनुहुँदैन। ग्यास, स्टोभ, चुलो दक्षिण–पूर्व कुनामा बनाउनुपर्छ। भान्सामा प्रयोग हुने वास बेसिन उत्तर–पूर्वमा राख्नुपर्छ। भान्सामा राखिने बट्टा एवं भाँडाकुँडा जसमा गेडागुडी आदि राखिन्छ, त्यसलाई दक्षिण वा पश्चिम दिशामा राख्नुपर्छ। भान्साकोठाको ढोका कुनामा हुनुहुँदैन, पूर्व, पश्चिम र उत्तर शुभ मानिन्छ। ग्यास, चुलो, आगो बाल्ने ठाउँ भान्छाकोठाको ढोकाको ठीक अगाडि राख्नुहुँदैन। भान्साकोठाको पूर्व दिशामा झ्याल राख्नु अत्यन्त लाभप्रद रहन्छ। डाइनिङ टेबुल उत्तर–पश्चिममा वा पश्चिम दिशामा राख्नुपर्छ। भान्सामा प्रयोग गरिने हलुका खालका सामग्रीहरु पूर्व–उत्तर दिशामा राखिनुपर्छ। खाना पकाउँदा पूर्व फर्केर पकाउनु शुभ हो। भान्छाकोठाको रंग पहेँलो, सुन्तला, चकलेटी वा रातो हुनुपर्दछ। भुइँ एवं सिलिङको रंग कालो हुनुहुँदैन। यदि फ्रिज राख्ने हो भने दक्षिण–पूर्व, दक्षिण, पश्चिम वा उत्तरमा राख्न सकिन्छ तर उत्तर–पूर्वमा र दक्षिण–पश्चिममा सकेसम्म राख्नुहुँदैन। भान्साकोठा उत्तर–पूर्वमा भए मानसिक तनाव, आर्थिक क्षति, रोगवृद्धि शत्रुभय हुन्छ र दक्षिण–पश्चिम दिशामा भएमा घरमा आन्तरिक कलह हुन्छ। त्यसैले यस्ता कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ।

अतिथि कक्षः अतिथि अर्थात् पाहुना देवतासमान हुन्छन्। अतः उनीहरुको सम्मान र सत्कार पनि उत्तिकै महत्वपूर्ण रहन्छ। अतिथि कक्ष सन्तुलन भएमा देवता पनि खुशी हुन्छन्। अतिथिसँगको सम्बन्ध सुमधुर रहन्छ। त्यसैले अतिथि कक्ष उत्तर–पश्चिममा रहनु सर्वश्रेष्ठ हुन्छ। सामान्यतया यी आधारभूत कुरालाई मिलाउँदा पनि सकारात्मक प्रभाव पर्न गई यश, ऐश्वर्यमा वृद्धि हुन्छ।

प्रतिक्रिया दिनुहोस्