आचारसंहिता उल्लंघन गरेको एमालेको आरोप



काठमाडौं, (नेस)
प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहिता जारी भएपछि पनि सरकारले सरुवा बढुवा गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। सरकारले निर्वाचन आचारसंहिता लागू भएकै दिन अघिल्लो दिनको मिति राखेर प्रहरीमा व्यापक सरुवा गरेको छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई टेलिफोन गरी सरकारले आचारसंहिता उल्लंघन गरेको भन्दै तत्काल कदम चाल्न आयोगलाई आग्रह गर्नुभएको छ।

उहाँले सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको छ, प्रहरी तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूको व्यापक सरुवा गरेकाले त्यो तत्काल सच्याउन सरकारसँग आग्रह गर्नुभयो। उहाँले यस्ता गतिविधि रोक्न प्रमुख निर्वाचन आयुक्तको ध्यानाकर्षण गराएको बताउनुभयो।

नेम्वाङले सरकारले पुरानो मिति राखेर धमाधम कर्मचारी र प्रहरी अधिकृतको सरुवा गरेकाले त्यो निर्णय तत्काल सच्याउन आग्रह गर्नुभयो। ‘सरकारले निर्वाचन निस्पक्ष गर्ने रटान दिए पनि यसरी सरुवा बढुवा गरेपछि कहाँबाट निर्वाचन निस्पक्ष हुन्छ। –उहाँले भन्नुभयो।

एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका नेम्वाङले प्रमुख निर्वाचन आयुक्तसँग सरुवा बदर गर्न आग्रह गरेको बताउनुभयो। एमालेले निर्वाचन आयोगमा उजुरी गरेपछि आयोगले यसबारेमा सरकारसँग स्पष्टीकरण लिने भएको छ।

यसैबीच, निर्वाचन आचारसंहिता कार्यान्वयनका विषयमा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा गर्नुभएको एमालेले जनाएको छ।

वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेपछि पनि सरकारले आफ््ना अनुकूलका मान्छेलाई सरुवा गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्