तीन विद्यार्थी संगठनको वर्चस्व



ईश्वरराज ढकाल, काठमाडौं
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ पहिलो भएको छ। दोस्रोमा एमाले निकट अनेरास्ववियु र तेस्रोमा अनेरास्ववियु क्रान्तिकारी (माओवादी केन्द्र) विजयी भएको ती विद्यार्थी संगठनले दाबी गरेका छन्।

हिजो बिहीबार रातिसम्मको परिणामअनुसार तीन विद्यार्थी संगठनबीच प्रतिस्पर्धा भएको हो। देशभरका २१ आंगिक र अन्य सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १८ गते सम्पन्न निर्वाचनमा नेविसंघले १ सय ५, अनेरास्ववियुले १ सय १ क्याम्पसमा जित हात पारेको दाबी गरेका छन् भने अखिल क्रान्तिकारीले ७३ क्याम्पसमा जितेको दाबी गरेको छ।

अनेरास्ववियुले हिजो बिहीबार पत्रकार सम्मेलन गरी मत परिणाम घोषणा गरेको हो। नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघ पहिलो संगठन भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘अझै बढ्ने सम्भावना रहेको छ, आज शुक्रबारसम्म पूर्ण विवरण आउनेछ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले हिजो बिहीबारसम्म ७३ स्थानमा विजय हासिल गरेको बताउनुभयो। अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले नेविसंघले झुटो तथ्याङ्क पेस गरेर विजयी उम्मेदवारको संख्या बढेको आरोप लगाएको छ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले १ सय ५ जना विजयी भएको तथ्य सार्वजनिक गर्न चेतावनी दिनुभयो। अनेरास्ववियुका सचिव आरसी लामिछानेले नेविसंघले हावा डाटा उल्लेख गरेको बताउनुभयो।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले सही तथ्याङ्क पेस गरेको बताउँदै अन्य संगठनले ढाँटेको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो– ‘केही हामीले जितेको क्याम्पसमा अनेरास्ववियुले नाम सार्वजनिक गरेको छ। यो पूर्णरुपमा गलत हो।

अनेरास्ववियुले बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरी सूची सार्वजनिक गरेको एक घण्टा बित्न नपाउँदै नेविसंघले पनि सोही होटलमा पत्रकार सम्मेलन गरी तथ्याङ्क सार्वजनिक गरेको थियो।

त्रिविअन्तर्गत ३९ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको छैन। राजधानीका ५ ठूला क्याम्पसबाहेक अन्यमा निर्वाचन हुन नसकेको अवस्थामा त्रिविले हालसम्म कुनै निर्णय गर्न सकेको छैन।

राजधानीका ठूला क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले जित हात पारेको छ। उपत्यकाको पुल्चोक, थापाथली र सानोठिमी क्याम्पसमा विजय हासिल गरेको छ। अनेरास्ववियुले महाराजगन्ज मेडिसिन, नर्सिङ, कोटेश्वर क्याम्पसमा विजय हासिल गरेको छ। उपत्यकाको कुलेश्वर, काठमाडौं इन्जिनियरिङ र एड्भान्स इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुले जितेको छ।

उपत्यकाको भक्तपुर, सानोठिमी, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, महाराजगन्ज मेडिसिन, नर्सिङ, जनप्रशासन क्याम्पसमा निर्वाचन भएको थियो। भक्तपुरमा नेविसंघ र नेक्राविसंको संयुक्त प्यानलले जित हात पारेको थियो। जनप्रशासनमा नेविसंघले विजय हात पारेको छ। उपत्यकाका त्रिविको आंगिकमध्ये ३ वटामा अनेरास्ववियु क्रान्तिकारी, २ वटामा अनेरास्ववियु र एउटामा नेविसंघ विजय भएको छ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं)ले तीन क्याम्पसमा विजय हासिल गरेको छ। सो संगठनले कपिलवस्तुको रामनाथ, आदर्श र मकवानपुरको वंशगोपाल कलेजमा जित हात पारेको जनाएको छ।

आफ्नो पक्षका उमेदवारले विजय हात पारेपछि तीनै विद्यार्थी संगठनले उपत्यकालगायत देशभरका क्याम्पसमा विजय जुलुस प्रदर्शन गरेका थिए।
अन्य क्याम्पसहरूमा कहिले हुन्छ भन्ने विषयमा कुनै निर्णय हुन सकेको छैन। देशभर करिब ३ सय ६० वटा क्याम्पसमा स्ववियु रहेकामा २ सय ३० वटामा निर्वाचन भएको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिनुभयो। राजधानीमा ४८ वटा क्याम्पसमध्ये ११ वटामा निर्वाचन भएको र तीमध्ये ६ वटामा विजय हासिल गरेको दाबी लामाको छ।

प्रतिक्रिया दिनुहोस्