एमालेको मेची–महाकाली अभियानको तयारी पूरा



काठमाडौँ, १९ फागुन । नेकपा (एमाले)को यही फागुन २१ बाट सञ्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानको तयारी पूरा भएको छ ।

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेकोे अभियानका लागि नेपाली, मैथिली, थारू, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री तयार गरी पठाइएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता र केन्द्रीय नेता सहभागी हुने सो अभियान झापाको काकडभित्ताबाट सुरु भई कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ । नेता र कार्यकर्ताको सामूहिक आवास हुनेछ । पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय पार्टी कमिटीले सबै व्यवस्थापन गरिसकेको र सम्पूर्ण खर्च सम्बन्धित जिल्लाले व्यवस्थापन गर्ने बताउनुभयो ।

अभियानका क्रममा साना–ठूला गरी ३३ स्थानमा आमसभा, प्रतिजिल्ला २० देखि ५० हजार गरी कुल ५० लाख मानिसको सहभागिता हुने पार्टीको अपेक्षा छ । अभियानका लागि १० हजार स्वयम्सेवक, अलग्गै सांस्कृतिक टोली खटाइएको छ भने सोही क्रममा पार्टी प्रवेश, ज्येष्ठ कम्युनिस्ट सम्मान तथा आयोजना शिलान्यास हुने भट्टराईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्