एमाले मेची–महाकाली अभियानमा बिथोल्न खोजिए प्रतिवाद गर्ने चेतावनी



काठमाडौं, (नेस)
प्रमुख विपक्षी दल नेकपा एमालेले यही फागुन २१ गतेदेखि मेची–महाकाली अभियान सञ्चालन गर्ने भएको छ। सो अभियानबारेमा जानकारी गराउन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले यसको अगुवाइ गरे पनि यो सबै नेपालीको अभियान भएको बताउनुभयो।

उहाँले आफ्नो अभियान झूट फैलाउने विरुद्ध सत्यतर्फको अभियान भएको जनाउँदै आफूहरूको कार्यक्रम कसैप्रतिको विरुद्ध नभएको समेत बताउनुभयो। उहाँले अहिलेको संविधान कार्यान्वयन गर्न नदिनका लागि विभिन्न तत्त्वहरू लागिरहेको बताउँदै जनतामा सचेतना फैलाउनका लागि पनि यो अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो। उहाँले अधिकारका हिसाबले अहिलेको संविधान संशोधन गर्न जरुरी नरहेको बताउँदै भन्नुभयो– ुसुशासन कायम गर्नका लागि केही संशोधन जरुरी हुन सक्छ। अधिकारका हिसाबले संशोधन गर्न जरुरी छैन।

उहाँले अहिलेको संविधानका बारेमा अनावश्यक हिसाबले भ्रम फैलाइएको आरोपसमेत लगाउनुभयो। उहाँले मुलुकमा संविधानविद् र कानुनविद् बढी र वकिलहरू कम भएको बताउँदै वकिलहरूले संविधानको गलत व्याख्या गरेको आरोप पनि लगाउनुभयो। कतिपयले आफूलाई लक्षित गर्दै विभिन्न आरोपप्रत्यारोप लगाएको बताउँदै ओलीले भन्नुभयो– ुमेरो नाममा गाली गरेर कसैको बिजनेस चल्छ भने ठीकै छ। तर, मुलुकलाई भ्रममा पार्न मिल्दैन।

ओलीले गृहमन्त्रीद्वारा केही दिनअघि दिइएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँ कुनै पार्टीको मात्रै गृहमन्त्री नभई देशको गृहमन्त्री भएकाले उहाँको कर्तव्य शान्ति सुव्यवस्था कायम गर्ने रहेकाले उत्तेजना नफैलाउन चेतावनी पनि दिनुभयो। यसलाई हल्का रूपमा नलिन र कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी लिनुपर्ने पनि बताउनुभयो। उहाँले आफूहरूले शान्तिपूर्ण रूपमा कार्यक्रम गर्ने र त्यसलाई बिथोल्न खोजिएमा स्वीकार नगर्ने चेतावनी पनि दिनुभयो।

उहाँले संविधान कार्यान्वयन गर्नका लागि चुनाव हुनैपर्ने बताउँदै अहिले चुनावमा जाने वा नजाने भनेर भइरहेको विवाद सत्ता पक्षबीचकै झगडा भएको बताउनुभयो। ुयो सत्ता पक्षको समस्या हो। राष्ट्रिय समस्या होइन, उहाँले विगतको चुनावमा मधेसी दलहरूले ११ सिट जितेको तर्फबाट व्यंग्य गर्दै ओलीले भन्नुभयो– ुपहिला ११ सिटको भुलचुक अब रहन्छ रहँदैन, अब चुनावमै भेटौंला।
उहाँले एक प्रसंगमा एमालेले अहिले भनिएअनुसार संविधान संशोधन पारित गर्न नदिने पनि बताउनुभयो। उहाँले संविधान संशोधनको नाममा जसले जे भन्यो त्यही संसद्मा प्रवेश गर्न नसक्ने बताउँदै मतदान गरेर परिणाम आफू अनुकूल नभएमा अस्वीकार गर्ने कुरा हुन नसक्ने बताउनुभयो। सो अवसरमा एमालेका महासचिव ईश्वर पोखरेलले आफूहरूले राष्ट्रिय स्वाभिमानको अभियान अघि बढाउन लागेको बताउँदै यसबाट कसैलाई पनि आपत्ति हुनु जरुरी नभएको बताउनुभयो। उहाँको भनाइ थियो– ुयो चुनाव प्रचार मात्रै होइन। कसैले पनि यो अभियानलाई हल्काफुल्का रूपमा लिएर बिथोल्ने प्रयास गरे प्रतिवाद हुनेछ। कार्यक्रममा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, सचिव विष्णु रिजाललगायतले पनि अभियानका बारेमा जानकारी गराउनुभएको थियो। अभियान जेठ २१ गते काँकडभिट्टाबाट शुरू भई १५ दिनपछि महेन्द्रनगरमा समापन हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्