माधव नेपालकै अगाडि एमाले सांसद्माथि आक्रमण प्रयास



गोकुल घोरसाइने, बारा
स्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रगति अनुगमनका क्रममा बाराको निजगढ पुगेको व्यवस्थापिका संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीबीच झडप भएपछि सो कार्यक्रम बिथोलिएको छ।

बारा क्षेत्र नम्बर ६ का नेकपा एमालेका सांसद् पुरुषोत्तम पौडेलले बोल्ने क्रममा माओवादी केन्द्र समर्थकले आक्रमण प्रयास गर्दा दुवै पक्षबीच विवाद बढेर कार्यक्रम बिथोलिएको हो।
संसदीय समितिका सभापति प्रभु साहसहित सांसद्ले आयोजनास्थल टागिया बस्तीको अनुगमनपछि आयोजना कार्यदलले निजगढमा गरेको सो कार्यक्रममा उपस्थित सांसद् पौडेलले कार्यक्रमबारे आयोजकले आफूलाई औपचारिक जानकारी नगराएको र आयोजना कार्यालयले कुनै एउटा दल विशेषको निर्देशनमा काम गरिरहेको बताएपाछि आक्रोशित बनेका माओवादी केन्द्र समर्थकले आक्रमण प्रयास गरेको र नेकपा एमाले समर्थकले प्रतिरोध गरेपछि झडपको अवस्था सृजना भएको हो।

समितिका सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसमेत विशिष्ट अतिथिका रूपमा सहभागी रहेको सो कायक्र्रममा सांसद् पौडेल बोल्ने क्रममा केही सहभागी होहल्ला गर्दै मञ्चमा चढेर आक्रमण प्रयास गरेपछि एमाले कार्यकर्ता पनि प्रतिकारमा उत्रिएका थिए।
पौडेलले आफू आयोजना स्थलपर्ने क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भएको र आफू २०५१ सालदेखि नै विमानस्थल निर्माणको लागि निरन्तररूपमा लागि पर्दै आएको तर पछिल्लो समय केही व्यक्ति र समूहको राजनीतिक स्वार्थ पूरा गर्न आयोजना कार्यालयले आफ्नो भूमिकालाईसमेत कमजोर पार्ने नियतले काम गरिरहेको आरोप लगाएका थिए।

सांसद् पौडेलले निजगढ विमानस्थल र काठमाडौं दु्रतमार्ग निर्माणको क्रममा नेकपा एमालेका नेता र कार्यकर्ताको योगदान सबैभन्दा बढी रहेको दाबी पनि गरेका थिए। मन्तव्यको क्रममा एमाले समर्थकले पैडेलको पक्ष र अन्यले विपक्षमा हुटिङ गर्ने क्रम चलिरहँदा स्थिति तनावपूर्ण बन्दै गएको थियो।

कार्यक्रममा उपस्थित सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएपछि अप्रिय घटना हुन भने पाएन। कार्यक्रमका सभा अक्ष्यक्ष एवम् संसदीय समितिका सभापति साहले सहभागीबीच नै झडपको अवस्था उत्पन्न भएपछि कार्यक्रम बिथोलिएर पूरा हुन नपाएको बताए।
आयोजना प्रमुख हरि अधिकारीले आफूले कसैको निर्देशनमा काम नगरेको बताए। कार्यक्रममा सांसद् जितेन्द्र देव, उमेशकुमार मण्डल, राधादेवी तिमल्सिना र राज्यलक्ष्मी श्रेष्ठसमेत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्