स्थानीय स्रोतको प्रयोगबाटै थान्का



समीना तिमिल्सिना, भक्तपुर ।
काभ्रेका सुरेश तामाङ स्थानीय हस्तगोला मण्डला थान्काका सञ्चालक हुन् । भक्तपुरमा उनले स्थानीय स्रोत साधनको प्रयोग गरेर थान्का उत्पादन गर्नुका साथै बिक्री पनि गर्ने गर्छन् । केही बर्षदेखि थान्का व्यवसाय गर्दै आईरहेका छन् ।

तामाङ्ग भन्छन्,–‘थान्का प्राकृतिक रुपमा पाइने सुन, कटनको प्रयोग गरी बनाइन्छ । साथै यसमा वुद्ध धर्मको उपदेशलाई चित्रको रुपमा एउटा चित्रकारले आफ्नो सीप क्षमता अनुसार उतार्ने काम गर्छ ।’

उनले थान्का कोर्ने काम अरु चित्र कोर्ने कामका तुलनामा फरक रहेको र निश्चित नियममा आधारित रही लेख्नुपर्ने बताए । थान्काबाट स्थानीय सीप स्रोत प्रयोग गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिने थान्का व्यवसायी ज्ञान लामाले बताए । उनले भने,‘थान्का नेपाली जनताले खासै किन्दैनन् ।

युरोप, अमेरीका, अष्टे«लिया, चीन, जापान लगायत विश्वका विभिन्न देशले थान्का किन्ने गर्छन । नेपालमा घुम्न आएको समयमा र विभिन्न अर्डर अनुसार थान्का विदेशमा निर्यात गछौ । थान्काको मूल्य र्निधारण थान्कामा प्रयोग गरेको सामान, गुणस्तरता, आकार लगायत विभिन्न पक्षको आधारमा हुने थान्का व्यवसायिक बताउछन् । लामा थान्का विद्यालयका सञ्चालक मनिष लामाले भने,‘थान्काको मूल्य दुई सय देखी ४०/५० लाख सम्म पर्छ ।

यसको माग मौसम अनुसार बढ्छ ।’ यस विद्यालयमा करिब एक सय जना कर्मचारी रहेका छन् । केही वर्ष यता नेपाली ग्राहक पनि बढ्न थालेको उनले बताए । गत बर्ष गएको भुकम्प र भारतको अघोषित नाकावन्दले थान्का व्यवसायमा नराम्रो असर पारेको थान्का व्यवसायी पूर्ण लामाले भने ।

उनले केही बर्ष अगाडी थान्काबाट घरखर्च टारी आम्दानी लिएको अनुभव भन्दै यस वर्ष कोठाको भाडा तिर्न समेत अरु पेशा अपनाउनु परेको गुनासो पोखे । नेपाली थान्काको बजार पहिलेको तुलनामा खस्किदै गएको कुमारी ग्राफ्त कलेक्सनका सञ्चालक चुडामणि कायस्थ बताए ।

उनले भने, ‘नेपाली थान्का चीनमा फोटोकपी हुन्छ । यदि यसलाई सरकारबाट अन्त्य गर्ने कुनै पहल नगरेमा संकटमा पर्ने सम्भावना रहेको छ ।’ साथै उहाले वैदेशिक रोजगारप्रतिको आकर्षणले गर्दा कामदारको कमी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्