“सिद्धिएका बाबुराम” र सत्तासीन सम्भ्रान्त राजाहरु



कृष्ण घिमिरे

हरेक नेपाली भाषा, संस्कृति, रीतिरिवाज अनि पहाड, तराई र मधेसमा विभाजित नभए पनि प्रत्येक दिन रंग बदल्न बाध्य छन्। यहाँ केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुरहरु त्यही पाठ रट्न बाध्य छन्। सत्ताको आशिर्वादमा ९ महिने आलोपालो खेतीको फसल छरिएको छ। व्याप्त बेरोजगारी, भूकम्प, महामारी, वर्षाजस्ता मानवीय संकटकालको चपेटाबाट आजित जनता आखिर आवास विकास र उन्नत राष्ट्रको परिकल्पना गरी आफ्नै जीवनकालमा हेर्न चाहन्छन्।

यही बाटोमा ती सबै समस्याको गाँठो फुकाल्न एकमात्र सत्तासीन शेरहरुले चारो फालेका हुन्छन्। तर त्यो चारो टिप्नेहरु कहिले मधेस टुक्र्याउने नाममा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसँगै द्वन्द्व बढाउनतिर लाग्छन् त कहिले पश्चिमलाई टुक्र्याउने खेलमा। उनीहरु कहिले भारतले गरेको नाकाबन्दीसँग जोडेर त कहिले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने नाममा युवाहरुलाई पलायनको बाटो देखाएर राजनीतिक आडमा खुला विषवमन गरिरहेका हुन्छन्। सत्तासीन पावरको बिहेभोज र खुशीका प्रहरहरुमा दिन–प्रतिदिन उही गाना गाउने गर्छन्।

भारतीय दलाल भनिएका बाबुरामले जनतालाई फराकिलो सडकको योजना दिए। अहिले यसको देशव्यापीरुपमा चर्चा मात्र होइन विस्तार कार्यसमेत जारी छ। राष्ट्रिय गौरवका बूढीगण्डकी लगायतका योजनाहरु शानदाररुपमा सफल भएका छन्। मध्यपहाडी लोकमार्गमा नयाँ शहर निर्माणका योजनाहरुले तीव्रता पइरहेका छन्, जहाँ कैयाँै युवाहरु ‘इन्गेज’ भएर अवसर पाइरहेका छन्। यी सब बाबुरामका ‘थोत्रे गुरुयोजना’ले केही गरेनन् भन्नेहरु पनि राजनीतिक बजारमा व्याप्त छन्। बरु केही दिनपहिला पूर्वराष्ट्रपति रामवरण यादवका नाति र एमालेको कोटाबाट बहालरत राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीबीच शुभ विवाहको मुर्हुतमा ठूला सडकबीच तामझाम ‘सड्के रत्यौली’, राजा र नेताहरुको जमघटलाई हेरेर जनताले केही पक्कै बुझेका छन्। भाषणमा दम दिएर बोलेका महामहिमहरुको हेर त नाटक र नौट्की जनतालाई भलिबलजस्तै बनाएर चाहिँदा हावा हाल्ने, सर्ट मार्ने र नचाहिएपछि पालैपालो सियो रोपी हावा निकाल्ने अनि कुनातिर मिल्काउने कस्तो खराब रणनीति ? यसै कारणले गर्दा प्रत्येक नागरिक र युवापुस्ता सचेत बनिरहेका छन्। लोक र सत्य कथाहरुबाट बनेका न्यायिक फिल्मी कथाका पात्रहरुजस्ता नेता। जति नै विज्ञ भए पनि हामी त्यही रत्यौली हेर्न बाध्य छौँ।

भारत र चीनको बीचमा रहेका हामी नेपालीले समानान्तर पुल बनेर व्यवहार गर्नुपर्छ भनी वकालत गर्दै बाबुराम घर–घर पुग्छन् भने पुष्पकमल दाहाल दिल्लीमा गएर त्यही कुरा प्रमाणित गरिदिन्छन्। किनकि दाहाल सत्तामा बहाल हुन जे पनि गर्छन्। तर बिग्रिएका बाबुराम युवालाई जुट्न अह्वान गर्छन्। उनी देश–विदेश चहारेर भन्ने गर्छन्– तपाईं बाध्यताले अर्काको मुलुकमा आउनुभएको छ, साथीभाइ मिलेर देशमा केही लगानी गर्नुहोस्, तपाईंहरुजस्ता हजारौँ बेरोजगारमध्ये केही साथीहरुले अवसर पाउने वातावरणमा कुनै व्यवसाय सञ्चालन गर्नुहोस्।

तर यहाँ खर्बौं कर छली गरेर उद्योगपति बनेका आशिर्वादयुक्त व्यापारीहरुको संरक्षणका लागि कर फछ्र्योट आयोग बनाई साना र समान्य व्यापार गरेर कर तिरेका उद्यमशीलहरुमाथि जाइलाग्न कर्मचारीलाई निर्देशन दिनेजस्ता प्रगतियुक्त योजनाहरु बनिरहेका हुन्छन्। संस्थानहरु राजनीतिक भर्तीकेन्द्र र सरकारी निकायमा सरुवाको महाजात्रामा करोडौंको ‘डिल’ बारम्बार देहोरिने ताण्डव नृत्यको तामझाम रहिरहेको हुन्छ।

यस्ता छद्म प्रवृत्ति कसरी बुझ्ने ? सुन्दै महाभारतको कथाजस्ता यी सब कथामा एउटै सत्य बुझ्न जरुरी छ कि यहाँ अहिले व्यापकरुपमा डा. बाबुराम भट्टराईलाई भारतीय दलाल र ‘रअ’को एजेन्टजस्ता आरोप लगाएर दुष्प्रचार गरिएको छ। यो सब एउटा राजीतिक गोत्रको पहिचान हो। को भारतको दलाल, को राष्ट्रभक्त ? यो त कुमालेले माटोको भाँडा बनाउँदा जुन चक्र बनाउँछ त्यस्तै हो। त्यहाँ सबै उस्तै लाग्छन्।

कांग्रेसका शेरहरु त खुलारुपमै हरेक विषयको नाङ्गोवादमा व्याख्या गर्छन्। उनीहरुको बहसको कुनै औचित्य नै रहेन। तर उदेक लाग्दो कुरा त यो छ कि जनताले पछ्याएका गगनहरु अहिले कुन बास्नामा मन्त्रमुग्ध भएका छन् ?

प्रतिक्रिया दिनुहोस्