सेना प्रयोग गरेर भए पनि निर्वाचन हुनुपर्छः बिजुक्छे



नेपाल समाचारपत्र
भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ। रफत सञ्चार क्लब भक्तपुरमा सोमबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सेना परिचालन गरेर भए पनि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले स्थानीय तहको निर्वाचन अबरुद्ध पार्न विदेशी चलखेल भइरहेको दाबी गर्दै मधेसी मोर्चाले निर्वाचनको विरोध गर्दैमा निर्वाचन प्रभावित नहुने जिकिर गर्नुभयो। अध्यक्ष बिजुक्छेले चरण–चरणमा विभाजन गरेर भए पनि निर्वाचन गरिनुपर्नेमा जोड दिँदै तोकिएको समयमा निर्वाचन गर्न सरकारले खुट्टा कमाउन नहुने बताउनुभयो।

मधेसी मोर्चाले उठाएका माग तराईका जनताको माग नभएको बताउँदै उहाँले तराईका सबै ठाउँमा निर्वाचन गर्न सम्भव रहेको उल्लेख गर्नुभयो।

उहाँले संविधान संशोधनमा एमालेले लचक हुनुको पछाडि विदेशी दबाबको हात हुन सक्ने बताउँदै संविधान संशोधन पारित भए देशको अखण्डतामा समेत असर पर्ने बताउनुभयो।

उहाँले संविधान संशोधन प्रस्तावको पार्टीले निरन्तररूपमा विरोध गरिरहेको बताउँदै संविधान संशोधनमा एमालेले अपनाएको लचकता देश र जनताको हितमा नभएको बताउनुभयो। अध्यक्ष बिजुक्छेले निर्वाचनमा थे्रस होल्ड राख्दा संख्याको आधारमा नभई विचारको आधारमा गरिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्