प्रतिबद्धता पूरा गर्छुः सम्बाहाम्फे



काठमाडौं, (नेस)
निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष विजय सम्बाहाम्फेले आफूले चुनावमा घोषणा गरेको प्रतिबद्धताअनुसार अघि बढ्ने बताउनुभएको छ। उहाँले निजी विद्यालयको विषयमा दीर्घकालीन र अल्पकालीन योजना बनाउने तयारी रहेको बताउनुभयो।

उहाँले महाधिवेशनमा आफूलाई दिएको म्यान्डेट वर्तमान कार्यसमितिले पूरा गर्ने दाबी बताउनुभयो। विजयपछि हिजो सोमबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरी उहाँले निजी विद्यालयको शैक्षिक विकास गर्न प्याब्सन हरदम अघि बढिरहेको उल्लेख गर्नुभएको छ। राज्यले निर्देशन दिएको कामलाई जिम्मेवारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसका लागि सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।

प्याब्सनले निर्माणाधीन शिक्षा नियमावलीमा निजी क्षेत्रको लगानीको सुरक्षा र लगानीमैत्री वातावरणको अपेक्षासहित पर्ख र हेर भन्ने नीति तय गरेको जनाएको छ। शिक्षा नियमावलीमा निजी क्षेत्रसम्बन्धी हुने व्यवस्था र महाधिवेशनको सोही म्यान्डेटबमोजिम यो कार्यसमिति निर्देशित हुन जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाले व्यावसायिक र पेसागत प्याब्सनले २ वर्षे कार्ययोजना बनाउने तयारीमा रहेको उल्लेख गर्नुभयो।

महासचिव राजेन्द्र बानियाले समाज र राष्ट्र, शैक्षिक एवं सामाजिक विकासका विभिन्न क्षेत्रहरूमा प्याब्सन र सदस्य विद्यालयहरूले गरेको योगदान, लक्षित वर्गलाई सरकारी नीति नियमबमोजिम १० प्रतिशत छात्रवृत्ति, कर्णाली क्षेत्रको शैक्षिक उन्नयनका लागि १ प्रतिशत शिक्षा सेवा शुल्क, सार्वजनिक विद्यालयको व्यवस्थापन, विपद व्यवस्थापन, जनताको अधिकारका लागि भएका आन्दोलनमा सक्रिय सहयोग, पर्यावरण तथा वातावरण संरक्षण, रोजगारी सिर्जना, स्वयं उद्यमशीलताको विकास, पलायन हुने आर्थिक पुँजीको रोकावट, गुणात्मक एवं जीवनपयोगी शिक्षाको विकास र विस्तार गर्न प्याब्सनले योजना बनाउने तयारी गरेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्