पार्किङको उचित व्यवस्था नहुँदा सडक अस्तव्यस्त



नेपाल समाचारपत्र
हेटौंडा
सडक विस्तारका कारण पार्किङको उचित व्यवस्था नहँुदा हेटौंडाका मुख्य सडक क्षेत्र हाल अस्तव्यस्त बन्ने गरेका छन्। बिहान एकछिन समस्या नदेखिए पनि दिउँसो र बेलुका अधिकांश सडकछेउमा निजी सवारी अव्यवस्थितरूपमा रोकिँदा सडक जाम हुनेलगायत समस्या देखिने गरेको हो।

अव्यवस्थित पार्किङका कारण पहिलेदेखि निकै समस्या आइरहे पनि हाल भइरहेको हेटौंडा सडक विस्तारले झन् अस्तव्यस्त बन्ने गरेका छन् हेटौंडाका भित्री सडक पनि। सवारीसाधन आवतजावत गर्न तथा पैदलयात्रीलाई हिँड्न सास्ती भइरहे पनि यसतर्फ कुनै निकायको ध्यान केन्द्रित हुन सकेको छैन।

ट्राफिक व्यवस्थापन सम्हाल्ने जिम्मा लिएको ट्राफिक प्रहरीले अस्तव्यस्त हेटौंडाका सडक व्यवस्थापन गर्न नसकिरहेको अवस्था छ। हेटौंडा उपमहानगरपालिकाले पार्किङ क्षेत्र नछुटइएकाले पार्किङ समस्या देखिएको जनगुनासो छ।
हेटौंडाको स्कुलरोडमा वानसाइड पार्किङ भए पनि हाल स्कुलरोडको कुन साइडचाहिँ पार्किङ हो छुटइउन गाह्रो पर्छ। सीमाचोकमा ट्राफिक प्रहरी बस्छन् तर उनीहरूले ध्यानै नदिँदा ट्राफिक व्यवस्थापन भद्रगोल बनिरहेको छ।
पारिजातपथको हालत पनि उस्तै छ। सडकका दुवैतिर सवारी पार्किङ गर्नाले सवारी आवतजावतमा मात्र हैन, पैदलयात्रीलाई हिँड्न गाह्रो परिरहेको छ। ट्राफिक प्रहरी भने यस विषयमा गम्भीर रहेको र पार्किङ व्यवस्थापन गर्न आफूहरू चुस्तढंगले लागिपरेको बताउँछन्।

यी सबै समस्या समाधानका लागि आवश्यक जनशक्ति नभएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक नवीनकुमार अधिकारीले बताए। मकवानपुरमा ३१ जना ट्राफिक प्रहरी रहेको र त्यसमध्ये पालुङ, सिस्नेरी, रातोमाटे आदि ठाउँमा पनि खटिनुपर्ने भएकाले हेटौंडामा १४ जनाले ट्राफिक व्यवस्थापन गरिरहेको अधिकारी बताउँछन्।

हेटौंडा उपमहानगरपालिका भने व्यवसायीका कारणले बाटो नै पार्किङस्थल बनेको बताउँछ। आफ्ना उपभोक्ताले अन्यत्र पार्किङ गरेर ५⁄७ मिनट हिँडेर आफ्नो पसलमा सामान लिन नआउने भन्दै व्यवसायीले गुनासो गरेपछि सडकलाई वानसाइड पार्किङ बनाइएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता भीम तिमल्सिना बताउँछन्।

आफूहरूले यस विषयमा मकवानपुर उद्योग वाणिज्य संघ, ट्राफिक प्रहरी, सडक कार्यालय, उपभोक्ता समिति र नागरिक समूहहरूसँग छलफल गरिरहेको तिमल्सिनाले बताए।

‘यो सबैको समस्या हो, हामीले मात्र गरेर सम्भव छैन। यस विषयमा आमउपभोक्तादेखि व्यवसायीले मद्दत गरेमात्र पार्किङ व्यवस्थापन गर्न सक्छौं।’ –प्रहरी निरीक्षक अधिकारीले भने।

स्कुलरोड, कान्तिराजपथ, पारिजातपथ, टीसीएन रोडलगायत सडकमा अव्यवस्थितरूपमा सडक दायाँबायाँ सवारी पार्किङ गरिँदा समस्या देखिएको छ।

दिन प्रतिदिन सवारीसाधन थपिँदै जाने, पार्किङ गर्ने ठाउँ नहुने र बाटो भने साँघुरो नै रहने हो भने केही समयपछि हेटौंडाका सडकमा हिँड्न पनि काठमाडौंजस्तै ५ मिनेटको बाटो छिचोल्न १ घण्टा जाममा बस्नुपर्ने स्थिति नआउला भन्न नसकिने स्थानीयको गुनासो रहेको छ।

प्रतिक्रिया दिनुहोस्