क्याम्पसहरूमा तनाव



 स्ववियु निर्वाचन स्थगित हुँदैनः त्रिवि  बाँकेमा क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी
ईश्वरराज ढकाल
काठमाडौं
भुवन विश्व विद्यालयले तत्काल कुनै पनि क्याम्पसमा निर्वाचन स्थगित नगर्ने स्पष्ट पारेको छ। उपत्यकाका महत्त्वपूर्ण २२ आंगिक क्याम्पसमध्ये १४ वटामा तालाबन्दी भएको अवस्थामा त्रिविले यस्तो धारणा सार्वजनिक गरेको हो। तीन विद्यार्थी संगठनमध्ये नेपाल विद्यार्थी संघले अधिकांश क्याम्पसमा तालाबन्दी गरेको छ।

नेविसंघको असन्तुष्ट पक्षले विजय गच्छदार निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका ठाउँमा तालाबन्दी गरेका छन्। नेविसंघका अध्यक्ष नैनसिंह महरले आफ्नो संगठनले तालाबन्दी नगरेको सार्वजनिक घोषणा गरिरहेको अवस्थामा अधिकांश स्थानमा उनकै संगठनले तालाबन्दी गरेको पाइएको छ। मनोनयन दर्ता खुला गर्दा पनि नेविसंघले टिकटसमेत बाँड्न सकेको छैन। नेविसंघका अध्यक्ष महरले आफूहरू चुनावको पक्षमा रहेको पटकपटक दाबी गरे तापनि तालाबन्दी किन नखुलेको त? यो प्रश्नको जवाफ उनले दिन सकेका छैनन्।

त्रिविले हिजो सोमबार बिहान १० बजेसम्मका लागि मनोनयन दर्ता गर्ने समय तोके पनि राजधानीका अधिकांश क्याम्पसमा ताला खुलेका छैनन्। त्रिविले भने विद्यार्थी संगठनकै आन्तरिक कारणले गर्दा प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ। त्रिविका प्रवक्ता भोला ढकालले मनोनयन भएका क्याम्पसमा मतदान भए पनि अन्यमा स्थगित हुनसक्ने बताए। उनले भने– ‘हामीले क्याम्पस प्रमुखलाई निर्वाचन गराउने जिम्मा दिएका छौं, उनीहरूले नै गर्ने वा रोक्ने भन्ने विषयमा निर्णय गर्नेछन्।’

उनका अनुसार हालसम्म राजधानीका ९ वटा समेत गरी देशभरका २३ वटा क्याम्पसमा निर्वाचन हुने भएको छ।

निर्वाचन हुने राजधानीका क्याम्पसहरूमा इन्जिनियरिङ क्याम्पस पुल्चोक र थापाथली, महाराजगन्ज नर्सिङ र मेडिसिन, जनप्रशासन, आयुर्वेद र ललितकला रहेका छन्। सानोठिमीमा प्रक्रिया अघि बढे पनि हालसम्म निर्वाचन हुने वा नहुने भन्ने विषयमा निर्णय हुन सकेको छैन। निर्वाचन रोकिनुमा मुख्य कारण नेविसंघको जस्तो देखिएको छ, अन्य विद्यार्थी संगठनमा खासै समस्या देखिएको छैन।

नेविसंघभित्र पौडेल पक्षघर नेताले अधिकांश क्याम्पसमा तालाबन्दी गरेका छन्।
त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले क्याम्पसभित्र प्रवेश गरिसकेको निर्वाचन फिर्ता हुने सम्भावना नरहेको जनाए। ‘चुनाव स्थगित भए क्याम्पस प्रमुखले गर्नेछन्, त्रिविले गर्नुपर्ने अवस्था छैन।’ –उपकुलपति खनियाको भनाइ थियो। यही २२ गतेदेखि स्नातकोत्तर तह द्वितीय वर्षको परीक्षा भएका कारण निर्वाचन सार्ने वा नसार्ने भन्ने विषयमा कुनै निर्णय हुन सकेको छैन।

‘परीक्षा भयो भने निर्वाचन पछि सर्नेछ।’ –अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानले भने। उनले नेविसंघकै कारण निर्वाचन हुन नसकेको बताउँदै त्रिविले जुनै हालतमा पनि निर्वाचन गर्नुपर्ने बताए। ताला फोडेर निर्वाचन गर्न त्रिविले क्याम्प्सलाई निर्देशन दिए पनि क्याम्पस प्रसासनले ताला खोल्न सकेको छैन।

गृहमन्त्री विमलेन्द्र निधिले क्याम्पसको ताला फोडेर निर्वाचन प्रक्रिया अघि बढाउन प्रहरी परिचालन गर्ने भने तापनि सो लागू हुन सकेन। क्याम्पसभित्र प्रहरी प्रवेश गर्न नपाइने भएकाले प्रहरीले ताला फोड्ने आँट गर्न सकेको छैन।
प्रहरी केबल गेटबाहिर मुकदर्शक भएर बसिरहेको छ। आन्तरिक कारण भएकाले तत्काल ताला फोडेर चुनाव गर्ने अवस्था नभएको उपकुलपति खनियाले जानकारी दिए। तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने माग गर्दै क्रान्तिकारीका विद्यार्थीले सोमबार जुलुससहित प्रदर्शन गरेका थिए। उनीहरूले नालायक त्रिवि भन्दै गाली गलौजसमेत गरेका थिए।

त्रिविले भने आफ्नो कारणले निर्वाचन स्थगित नभएको दाबी गरेको छ।
उनले स्थानीय तहमा जसरी सहमति गरेर निर्वाचन गर्छन् सबै जिम्मेवारी क्याम्पसलाई दिइएको बताए। देशभरका झन्डै ६ सय क्याम्पसमा निर्वाचन गर्नुपर्नेमध्ये हाल करिब दुई दर्जनमा परिणाम हात परिसकेको छ। त्रिविअन्तर्गत झन्डै ६ सयमध्ये साना र ठूला गरी करिब ४० वटामा मात्रै प्रक्रिया अघि बढेको छ।

निर्वाचन नभएपछि विगत एकसातादेखि त्रिविको पठन पाठन ठप्प भएको छ। निर्वाचन लफडाले गर्दा २२ गतेदेखिको परीक्षा के गर्ने भन्ने विषय अन्योलमा रहेको छ। उपकुलपति प्राडा खनियाले भने– ‘परीक्षा र निर्वाचन सँगै अघि बढ्न सक्छ।’

यसैबीच बाँके संवाददाताका अनुसार कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिरकुमार शर्माको कार्यकक्षमा सोमबार आगजनी भएको छ। स्ववियु निर्वाचनको विषयलाई लिएर प्रमुख शर्माको कार्यकक्षमा विद्यार्थीले आगजनी गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख सरोज पौडेलले बताए। आगजनीबाट कार्यकक्षमा रहेका महत्त्वपूर्ण कागजात, कुर्सी, टेबल गरी १ लाख रुपियाँ बराबरको क्षति भएको प्रमुख शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्