स्थानीय निकायको निर्वाचनमा विद्यालय बन्द गर्ने निर्णय प्रति एनसिई नेपालको ध्यानाकर्षण



काठमाडौं, (नेस) ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसिईले स्थानीय निकायको निर्वाचनमा विद्यालय बन्द गर्ने निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एनसिईले आज सोमबार एक बिज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।

एनसिई नेपालका अध्यक्ष कुमार भट्टराईले हस्ताक्षर गरिएको सो विज्ञप्तिमा लेखिएको छ, ‘मुलुक संविधान कार्यान्वयन गर्ने दिशातर्फ अघि बढिरहेको सन्दर्भमा सरकारले हालै घोषणा गरेको स्थानीय तहको निर्वाचनले समग्र देशको आर्थिक तथा सामाजिक रुपान्तरण गर्दै सार्वजनिक शिक्षाको सुदृढीकरणमा टेवा पु¥याउने आशा राख्दै शिक्षा क्षेत्रमा विगत डेढ दशकदेखि शैक्षिक हक र अधिकारको सुनिश्चितताका निम्ति क्रियाशील यस शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) सो घोषणको स्वागत गर्दछ । साथै सो सँगै स्थानीय तहको निर्वाचनको क्रममा आगामी बैशाख २५ देखि ३१ सम्म विद्यालयहरु बन्द गर्ने निर्णयले वालवालिकाको पठनपाठनमा नै असर गर्ने कुराप्रति यस अभियानको गम्भीर ध्यानार्कषण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकारको नीति अनुसार वार्षिक रुपमा कम्तीमा २२० दिन विद्यालय खोल्ने प्रावधान रहेकाले निर्वाचनको समयमा विद्यालय बन्द गर्ने घोषणाले प्रावधान अनुरुपको २२० दिन पठनपाठन गराउने कार्यमा वाधा व्यवधान नपर्ने गरी सार्वजनिक विदा वा अन्य विकल्पहरु प्रयोग गरी विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गर्न/गराउन समेत यस अभियान सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदछ । यसका साथै आगामी निर्वाचनमा विभिन्न राजनीतिक दलहरुले आफ्ना अभियान तथा राजनीतिक कृयाकलापमा बालबालिकाहरुलाई प्रयोग गर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै त्यस्ता क्रियाकलापहरुमा वालवालिका तथा विद्यालयहरुलाई प्रयोग नगर्न र नगराउन सरकार, राजनीतिक दल लगायतका सबै सरोकारवालाहरुलाई आग्रह गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्