नेविसंघको कारण स्ववियू निर्वाचन अनिश्चितः नविना लामा



काठमाडौं, १६ फागुन । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले नेविसंघको कारण स्ववियु निर्वाचन अनिश्चित बनेको आरोप लगाइन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष लामाले यस्तो आरोप लगाएकी हुन् ।
उनले भनिन्,‘हामी तोकिएकै मितिमा निर्वाचन सम्पन्न भएको देख्न चाहन्छौँ, तर नेविसंघले उद्ण्डता देखाईरहेको छ, हामी यसको कानुनी कारवाहीको माग गछौँ, लोतन्त्रको खिलाफमा नेविसंघ उभिएको छ, हामीलाई यो स्विकार्य छैन्, हामी जुनसुकै हालतमा स्ववियू निर्वाचन निर्धारित मितिमै हुनुपर्छ भन्ने चाहन्छौँ।’
त्यस्तै नेविसंघका महामन्त्री सरोज थापाले कहीँकतै अवरोध भएपनि सबै क्याम्पसमा निर्वाचनको वातावरण सिर्जना भएको दाबी गरे।
थापाले भने,‘पशुपति क्याम्पसमा हाम्रा केही साथीहरुको विमतीले गर्दा तालाबन्दी भएको छ, हामी तत्काल खुलाउने प्रयासमा छौँ, जीत हारले हामीलाई कुनैपनि फरक अर्थ राख्दैन।’
थापाले स्ववियु निर्वाचन मुलुककै निर्वाचन र संविधान कार्यान्वयनसँग जोडिएकोले निर्वाचन निर्धारित मितिमै हुनुपर्ने र गराउनको लागि आफ्नो संगठन पूर्ण प्रतिबद्ध रहेको विश्वास दिलाए।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले ताला फोडेर भएपनि निर्वाचन गर्नुपर्नेमा जोड दिए।
उनले भने,‘आफै नियम बनाउने आफै त्यसको खिलाफ गर्ने, अनेरास्ववियू र नेविसंघका विद्यार्थी नेताहरूले दोहोरो चरित्र देखाई रहनुभएको छ, यो कतिसम्म ठिक हो? अरु हामी केही जान्दैनौ जसरी पनि चुनाव हुनुपर्छ।’
अखिल क्रान्तिकारी ‘वैद्य’ समहका विद्यार्थी नेता सेमन्तराज भण्डारीले अमुक विद्यार्थी संगठनको कारणले गर्दा स्ववियू निर्वाचन धरापमा पर्ने सक्नेमा आशंका व्यक्त गरे।
उनले भने,‘हिजो परिणामको दम्भ देखाएर आजपनि आफ्नो हैसियत नाप्ने कुरा आफैमा लज्जाबोधको कुरा हो, हिजोको मत र परिणामको ठेगदार सम्झी रहेका छन््, यो सबैभन्दा ठूलो भूल हो, मधेशमा विखण्डनका आवाज निस्किरहेको बेला पहाड हिमालमा मात्रै निर्वाचन गर्नु जायज हुँदैन, सबै क्षेत्रमा एकसाथ चुनाव हुनुपर्छ।”
त्यस्तै मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष कपलेश्वर यादवले आफ्ुलाई ठुला भन्ने विद्यार्थी संगठनका नेताहरूले आफ्नो अस्तित्व समाप्त पर्छ कि भनेर स्ववियू निर्वाचन नचाहेको आरोप लगाए।
उनले भने,‘अनेरास्ववियू, नेविसंघ र अखिलसँग निर्वाचन गर्ने र चुनावमा भिड्ने राष्ट्रिय विश्वासिलो रणनीति छैन्, अर्कोतर्फ उहाँहरू आँफै नियम बनाउँने र आफै मिच्ने काम गर्नुहुन्छ, यसमा त्रिवि र तीन मुख्य विद्यार्थी संगठनको कमजोरी छ, अझै केही बिग्रेको छैन्, आचार संहिताको पूर्ण पालना गरेर अघि जानुको विकल्प छैन्, मधेशमा स्ववियू निवार्चन भएको खण्डमा मात्रै मधेशको जित हुन्छ भन्नेमा हामी विश्वस्त छौँ।’
कार्यक्रममा अनेरास्ववियू पाँचौका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारी विप्लव समुहका विद्यार्थी नेता पूर्ण बहादुर सिँह, तराई मधेश विद्यार्थी फन्ट्रका अध्यक्ष मनिस मिश्र, नयाँ शक्ति नेपाल निकट विद्यार्थी संगठनका नेता रमेश कुमार महतो लगायत विभिन्न विधार्थी संगठनका नेताहले स्ववियु निर्वाचनबारे आफ्ना महत्वपूर्ण धारणाहरु राखेका थिए।

प्रतिक्रिया दिनुहोस्