मन्त्री थापाको सपनाः ७५ वटै जिल्लामा एम्बुलेन्स सेवा पुर्याउनेदेखि १ वर्षमा २५ सय डाक्टर उत्पादनसम्म



काठमाडौं, १६ फागुन ।
स्वास्थ्य मन्त्री गगन थापाले देशका ७५ वटै जिल्लामा सुविधासम्पन्न एम्बुलेन्स पुर्याउने र वर्षमा २५ सय अण्डरग्राजुएट डाक्टर उत्पादन गर्नेगरि आफूले काम गरिरहेको बताउनुभयो । उहाँले आज सोमबार रिपोर्टरस् क्लबमा आयोजित कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

एम्बुलेन्सको सेवा पाउनु भनेको लाईफ सेभिङ्को कुरा भएको भन्दै उहाँले भन्नुभयो, यो कार्यलाई देशभरि तिव्रता दिनुपर्छ ।
त्यस्तै उनले देशभरिका स्वास्थ्य चौकीमा मेडिकल चिकित्सकको नेतृत्वमा जनशक्ति पुर्याउनेगरि आफूले काम गरिरहेको उल्लेख गर्दै भने,‘वर्षमा अण्डरग्राजुएट २५ सय चिकित्सकहरु उत्पादन हुन्छन्, तीनलाई प्रत्येक स्वास्थ्य चौकीमा पुर्याउनको लागि करिब २ अर्ब रुपैयाँ लाग्ने रहेछ, यो पैसा मन्त्रालयको आफ्नै थैलीमा छ।’

त्यस्तै उनले निःशुल्क रुपमा दाताहरुले दान गरेको रगत निःशुल्क रुपमा लिनपनि पाउनुपर्नेगरि व्यवस्था अघि बढाउन आफू लागिपरहेको जनाए। उनले थपे,‘यसको लागि ४० देखि ४५ करोडसम्म लागत लाग्नेछ रहेछ, यो वर्षलाई बजेट पुग्दैन्, अर्को वर्षबाट निःशुल्क गराउनेगरि बजेट विनियोजन हुन्छ।’

मन्त्रालयअन्तर्गत रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका खाली रहेका उपकुलपतिको नाम आफुले प्रधानमन्त्रीलाई दिइसकेको भन्दै यसलाई सरकारले चाँडो निर्णय गर्ने बताए। उनले भने,‘मैले करिब डेढ महिना अघि नै प्रधानमन्त्रीलाई नाम दिईसकेको छु, मेरो अधिकार सिफारिश गर्ने मात्रै हो।’

फरक प्रशँगमा उनले पार्टीभित्र गुट÷उपगुट हुनु स्वभाविक भएको टिप्पणी गरे। उनले भने,‘दुनियाँमै गुट नभएको पार्टी कहीँपनि छैन, संसारभरि यो चलन हुन्छ, हाम्रो पार्टीमा पनि छन, पार्टी गुटहरुको महासंघ बन्यो भनेमात्रै चिन्ता हो।’ उनले पार्टी पदाधिकारी चयनको लागि ढिलाई गर्न नहुने धारणा राखे।

पार्टीभित्र एउटा पक्षले विरोध गरिरहेको छ नि भन्ने प्रश्नमा उनले भने,‘अहिलेसम्म सरकारले वा पार्टी नेतृत्वले यो गर्नुपर्यो, त्यो गर्नुपर्यो भनेर कुरा उठाएको मलाई अहिलेसम्म थाहा छैन, मैले भनेको यति जना मान्छे राजदुत भएन, अरु नियुक्तीमा आफ्नो मान्छे भएनन् भनेर मुल्यांकन गर्ने कुरा न्यायोचित होईन्, उहाँहरुको आपत्ति के हो भन्ने कुरा नै स्पष्ट छैन, पार्टीले लिएको लाईनसँग हो कि वा सरकारले गरेको राजदुत सिफारिशसँग हो ?।’

त्यस्तै उनले मानव अंग दान गर्न रहेका केही कानूनी जटिलताहरु फुकाईसकेको जानकारी दिँदै भने,‘अब मानव अंग दान गर्न चाहानेहरुले गर्न सक्नुहुन्छ, ब्रेन डेथ भएकाहरुले आफ्नो अंग अरुलाई दान गरेर जीवन बचाउन सकिन्छ, मैले आम नागकिरलाई सचेतना होस् भनेर आँफैले हिजो अंग दानको घोषणा गरेको छु।’

हालै सरकारले गरेको राजदुत सिफारिशबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘राजदुत सिफारिश गर्दा एकैचोटी नाम पेश भयो, यसबारमो अनुभवी मन्त्रीज्यूलेपनि प्रश्न उठाउनुभएको हो, एकैचोटी नाम आएपछि प्रश्नहरु उठाउनुभएकै हो, नाम, विवरण र योग्यता के हो? भनेर विस्तृत अध्ययन गर्न दिईएन।’ थपाले सिफारिश राजदुतमध्ये केहीको नाम सरकारले फिर्ता लिएको छ नि भन्ने कुरा आफूलाई अहिलेसम्म जानकारीमा नआएकोले भोलि बस्ने मन्त्रिपरिषदको बैठपछि मात्रै भन्न सकिने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्