विद्यार्थी संगठनको बदमासी तालाबन्दी अझै खुलेन



काठमाडौं, (नेस)
त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका अध्यक्षबीच शनिबार राति सबै क्याम्पसमा लगाइएको ताला फोडेर आइतबार साँझसम्म मनोनयन गर्ने सहमति भए पनि त्यो सफल हुन सकेन।

साना विद्यार्थी संगठनको आडमा ताला लगाएको नेपाल विद्यार्थी संघले त्रिचन्द्रबाहेक अन्य क्याम्पसमा ताला नखोलेपछि समस्या झन् जटिल बन्दै गएको छ। राजधानीको आरआर, शंकरदेव, त्रिवि केन्द्रीय क्याम्पस, मीनभवनलगायतमा ताला खुल्न सकेको छैन।

विद्यार्थी संगठनबीच कुरा नमिलेका कारण ताला खुल्न नसकेको विद्यार्थी नेताले जनाएका छन्। नेविसंघले भने तत्काल ताला खोलेर फागुन १८ गते नै निर्वाचन गर्ने रटान दोहोर्याएको छ। नेविसंघका अध्यक्ष नैनसिंह महरले आफूहरू टिकट बाँड्ने काममा ब्यस्त भएको बताउनुहुँदै तोकिएकै समयमा निर्वाचन भएरै छाड्ने जिकिर गर्नुभयो। शनिबार राति आरआरमा आगजनी गरिएपछि स्थिति तनावग्रस्त भएको थियो। आइतबार अधिकांश क्याम्पसमा तालाबन्दी भए पनि कतै स्थिति तनावग्रस्त भएन।

अनेरास्ववियुका उपाध्यक्ष एवम् स्ववियु काउन्सिलका अध्यक्ष महेश बर्तौलाले नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले चुनाव गर्न नदिन आफैले प्रपञ्च गरेको आरोप लगाउनुभयो। सेमेस्टरमा भर्ना भएका विद्यार्थीलाई पनि मतदान गर्न दिनुपर्ने अडान राखेर उहाँलगायतका केही विद्यार्थी संगठनले तालाबन्दी गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘मनोनयन हुने निश्चित भएको अवस्थामा यमीको नेतृत्वले तालाबन्दी गरेको हो। राजधानीका केही क्याम्पसमा नयाँ शक्तिले तालाबन्दी जारी राखेको छ।

वैद्य माओवादी निकट विद्यार्थी संगठनले पनि यही अवस्थामा निर्वाचन हुनै नसक्ने अडान दोहोर्याएको छ। अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष एवम् प्रवक्ता सुरेन्द्र बस्नेतले विद्यार्थी संगठनबीच कुराकानी भइरहेको र ताला खोलेर प्रक्रिया अघि बढाउने तयारीमा रहेको बताउनुभयो।

त्रिवि निर्वाचन समितिका प्रमुख एवम् रजिष्ट्रार प्राडा सुधा त्रिपाठीले त्रिविले कुनै पनि हालतमा निर्वाचन नरोक्ने स्पष्ट पार्दै भन्नुभयो– ‘हामी सोमबारसम्म कुर्छौं, नभए प्रहरी परिचालन गरी ताला फोडेर भए पनि तोकेकै मितिमा निर्वाचन गर्नेछौं।

त्रिविले सबै क्याम्पसलाई परिपत्र गरेर निर्वाचनको वातावरण अघि बढाउन निर्देशन दिएको छ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले हामीले निर्वाचन नभाँडेको स्पष्ट पार्दै टिकट वितरण गरेपछि निर्वाचन हुने जिकिर गर्नुभयो। उहाँले भन्नुभयो– ‘कहीं कतै आन्तरिक कारणले स्थगित भएको होला तर हाम्रै कारणले भने रोकेका होइनौं। अनेरास्ववियुका महासचिव ऐन महरले आइतबार रातिसम्मको बैठकमा निर्वाचन गर्ने सहमति भए पनि त्यसलाई पालन गर्न नसकेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्