दौडिने मुडमा बेपत्ता आयोग चैत १५ गतेसम्म पुनः उजुरी लिइने



विकास भट्टराई, काठमाडौं
पत्ता आयोगले आफ्नो कार्य द्रूत गतिमा अगाडि बढाउने निर्णय गरेको छ। यसका लागि राष्ट्रिय मानव अधिकार आयोगसँग ‘एन्टी मार्टम फारम मगाई आफ्नो कार्यलाई थप विश्वसनीय र तीव्र गतिमा अघि बढाउने आयोगले तयारी गरेको छ। एन्टी मार्टम फारम बेपत्ता भएका व्यक्तिको हुलिया उल्लेख भएको रिपोर्ट हो।

द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिका बारेमा मानव अधिकार आयोगले त्यस्तो फारम भरेको थियो। बेपत्ता व्यक्तिका बारेमा मानव अधिकार आयोगले तयार पारेको फारमको प्रति पठाउन अनुरोध गर्ने बैठकले निर्णय गरेको आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

आयोगले आफैं पनि एन्टी मार्टम फारम तयार गरेको छ। यसमा व्यक्ति बेपत्ता हुँदा कस्तो लुगा लगाएको थियो, उसको थप हुलिया कस्तो थियो भन्नेबारेमा यावत विषय उल्लेख गरिएको हुन्छ। यस्तो फारम उसलाई नजिकबाट चिन्नेको सहायताबाट भरिन्छ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगको भविष्य नै अन्यौल रहेको बेला बेपत्ता आयोगले भने अबदेखि आफ्नो कार्यलाई द्रूत गतिमा अगाडि बढाउने निर्णय गरेको हो।

बेपत्ता आयोगको आइतबार बसेको बैठकले आफ्नो कार्यलाई १ वर्षभित्रमा सक्ने गरी अगाडि बढाउने निर्णय गरेको आयोगका अध्यक्ष मल्लिकले जानकारी दिनुभयो।

बैठकले थप उजुरी पनि लिने निर्णय गरेको छ। यसअघि आयोगले उजुरी लिने कार्य बन्द गरेको थियो। बैठकले आउँदो चैत १५ गतेसम्म थप उजुरी लिने निर्णय गरेको बताइएको छ। आयोगका अध्यक्ष मल्लिकले भन्नुभयो– ‘बैठकले आउँदो चैत १५ गतेसम्म पीडितबाट उजुरी माग्ने पनि निर्णय गरेको छ।

बेपत्ता आयोगमा ३ हजार ४ सय उजुरी परेकोमा ३३ वटा उजुरी तामेलीमा राख्ने निर्णय भएको छ। तामेलीमा राख्ने ती उजुरीहरू द्वन्द्वकालभन्दा अगाडि र पछाडिका रहेको देखिएकाले त्यसमा अनुसन्धान गर्न जरुरी नपरेको बताइएको छ।
केही उजुरीहरू सत्यनिरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारमा पर्नेजस्तो देखिएका कारण त्यसलाई अनुसन्धान गर्न सो आयोगतिर पठाइएको बेपत्ता आयोगका अध्यक्ष मल्लिकले जानकारी दिनुभयो।

सत्यनिरुपण तथा मेलमिलाप आयोग भने त्यहाँका सदस्यहरूबीचकै खिचातानीले गर्दा त्यहाँ दर्ता भएको ५८ हजारभन्दा बढी उजुरीहरू अलपत्र पर्ने हो कि भन्ने डर आम सरोकारवालाहरूलाई लागेको छ।

प्रतिक्रिया दिनुहोस्