धर्मकीर्ति विहारद्वारा भारतीय राजदूतको बिदाइ



काठमाडौं, (नेस)
नेपालका लागि भारतका राजदूत रञ्जित रेलाई एक समारोहका बीच धर्मकीर्ति विहारका अध्यक्ष धम्मवती गुरुमाले आइतबार बिदाइ गर्नुभएको छ। कार्यक्रममा रेको कार्यकालमा नेपाल र नेपालीको हितमा भएका कार्यहरूको स्मरण गरिएको थियो। कार्यक्रममा राजदूत रेलाई धम्मवती गुरुमाले कदरपत्र र धर्मकीर्ति विहार संरक्षण कोषका उपाध्यक्ष द्रव्यमानसिंह तुलाधरले मायाको चिनो प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै राजदूत रेले नेपाल र भारतबीचको सामाजिक, धार्मिक, साँस्कृतिक सम्बन्ध अत्यन्त पुरानो भएको र नेपालमा जन्मिनुभएका गौतम बुद्धले भारतमा ज्ञान प्राप्त गर्नुभएको विचार राख्नुभयो। उहाँले धर्मकीर्ति विहारका विविध कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको समेत बताउनुभयो। भारत सरकारको सहयोगमा निर्माणाधीन धर्मकीर्ति सामुदायिक स्वास्थ्य केन्द्र छिटै सम्पन्न भएको आफूले हेर्न चाहेको विचार पनि उहाँले व्यक्त गर्नुभयो। कार्यक्रममा धम्मावतीले विहारलाई भारतीय राजदूतले गर्नुभएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै कार्यकाल सकेर जान लाग्नुभएका राजदूतको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो।

स्वागत मन्तव्य दिँदै विहारका उपाध्यक्ष द्रव्यमानसिंह तुलाधरले राजदूतले लगाउनुभएको गुनप्रति आभार व्यक्त गर्नुभयो। सो अवसरमा विहारका सचिव प्रफुल्ल कमल ताम्राकारले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सदस्य मीना तुलाधरले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्