अन्तिम चरणमा गणतन्त्र स्मारक



जेठ १५ गते उद्घाटन गरिने

मधुसूदन रायमाझी, काठमाडौं
देशमा गणतन्त्र स्थापना भएको प्रतीकका रूपमा नारायणहिटी दरबार संग्रहालय परिसरभित्र गणतन्त्र स्मारक निर्माण भएको छ। गणतन्त्र स्थापना गर्न योगदान गर्नेहरूको स्मरणमा सरकारले गणतन्त्र स्मारक निर्माण गरेको हो। छ वर्षअघि शुरू भएको स्मारक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

शहरी विकास मन्त्रालयका प्रवक्ता डा. रमेशप्रसाद सिंहले आगामी जेठ १५ गते गणतन्त्र दिवसअघि नै स्मारकको सम्पूर्ण काम सम्पन्न हुने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सम्झौता भएको समयमा नै सम्पन्न गर्ने हाम्रो लक्ष्य थियो तर भूकम्प र नाकाबन्दीको कारण केही ढिला हुनपुग्यो।

शहरी विकास तथा भवन निर्माण विभाग, भवन निर्माण शाखाका इन्जिनियर कृष्णबहादुर कार्कीले स्मारकको झन्डै ८५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो। १२ मिटर अग्लो स्मारकको कामको फिनिसिङ कार्य जारी रहेको बताउनुहुँदै उहाँले नेपालकै नमूनाका रूपमा स्मारक निर्माण भएको बताउनुभयो। विभागका अनुसार स्मारक निर्माणका लागि सरकारले ८२ रोपनी क्षेत्रफल जमिन छुटइएको थियो। इन्जिनियर कार्कीका अनुसार स्मारकको अनुमानित लागत ४२ करोड रुपियाँ छ। नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको ८२ रोपनीमा निर्माण हुनुपर्ने स्मारक ३५ रोपनी क्षेत्रफलमा मात्र निर्माण भएको छ। विभागले ५३ रोपनी क्षेत्रफलमा स्मारकको डिजाइन गरे पनि सेनाको संरचनाका कारण ३५ रोपनीमा मात्र स्मारक सीमित भएको छ।

गुरुयोजनाअनुसार १८ रोपनी क्षेत्रफल जग्गा कम भएको छ। जसको कारण स्मारकको आकर्षणमा समस्या हुने बताइएको छ।

स्मारक दुई तला जमिनमुनि रहेको छ। एक तला जमिनमाथि रहेको स्मारकको उचाइ १२ मिटर रहेको छ। इन्जिनियर कार्कीका अनुसार स्मारकमा चारवटा खम्बामा गणतन्त्र ल्याउने, आन्दोलनमा ज्यान गुमाउने, घाइते हुने, अपहरणमा परेका र बेपत्ता भएकाहरूको सम्झनामा एकएक खम्बा बनाइने भएको छ। चारवटा खम्बालाई गोलो फलामे रिङले घेरिएको छ। चारवटा खम्बाको बीचमा रहेको खाली ठाउँमा नेपालको नक्सा बनाइने र प्रकाशमार्फत सो नक्सामा उज्यालो पारिनेछ।

स्मारक निर्माणको ठेक्का पाएको बिकोइ स्काई बंगलामुखी जेभीका परियोजना निर्देशक रोशन श्रेष्ठले आगामी जेठ १५ गतेभित्र स्मारक निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो।

‘स्मारक निर्माणको काम अन्तिम चरणमा पुगेको छ, फिनिसिङको काम भइरहेको छ, उहाँले भन्नुभयो– ‘तोकिएको समयमा निर्माण सम्पन्न गर्न भूकम्प र नाकाबन्दी नै मुख्य कारण हो।

विभागका अनुसार स्मारकको जमिनमुनिको एउटा तलामा बैठक, सभा हल, विशिष्टलगायतका कक्ष र दोस्रो तलामा फोटो ग्यालरी कक्ष रहनेछ। स्मारक निर्माणसँगै वरिपरि चारैतिर बंगैचा र पार्क निर्माण कार्य भइरहेको छ।

स्मारक निर्माणपछि अवलोकनको सम्पूर्ण व्यवस्थापन नारायणहिटी दरबार संग्रहालयलाई दिने विभागका इन्जिनियर कार्कीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘कुनै प्राकृतिक विपत्ति नआए जेठ १५ गते गणतन्त्र स्मारकको हस्तान्तरण हुन्छ, हामीले ठेकेदार कम्पनीलाई पनि त्यहीअनुसार काम सम्पन्न गर्न निर्देशन दिएका छौं।

स्मारकमा पाँचवटा पोखरी, पार्किङस्थल, पानीको फोहरा (फाउन्टेन) रहेका छन्। विभागले ठेकेदार कम्पनीलाई आगामी वैशाख मसान्तसम्मका लागि मात्र म्याद थप गरेको छ। सरकार परिवर्तनसँगै पटक–पटक स्थान परिवर्तन हुँदा स्मारक निर्माणमा ढिलाइ भएको थियो।

शहरी विकास मन्त्रालयका प्रवक्ता सिंहले गणतन्त्र स्तम्भका लागि डिजाइनको सम्पूर्ण कार्य सम्पन्न भए पनि बजेटको अभावले निर्माण कार्य अगाडि बढ्न नसकेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘दुई अर्ब बजेट विनियोजन भए गणतन्त्र स्तम्भ निर्माणको काम अगाडि बढ्छ।

त्रिभुवन विश्वविद्यालयको परिसरमा निर्माण हुन लागेको ९४ मिटर अग्लो गणतन्त्र स्तम्भका लागि विश्वविद्यालयको ७० रोपनी क्षेत्रफलमा जग्गा छुट्याएर तारबार गरे पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन। उक्त स्तम्भ रत्नपार्क र ललितपुरको गँुसिङगाल हुँदै काठमाडौं महानगरपालिका–१४ गाङखेलमा स्तम्भ निर्माण गर्ने टुंगो लगाएको विभागले बताएको छ।

स्तम्भभित्र नेपाल ग्यालरी र राजनीतिक ग्यालरी रहनेछन्। १ सय जनाले एकै चोटी अवलोकन गर्न सक्ने स्तम्भमा दुईवटा भूमिगत तल्लाहरू रहनेछन्। लिफ्ट तथा सिंढीकोमार्फत ३३ मिटरमा पहिलो अवलोकन कक्ष राखिएको छ भने ५७ मिटरमा दोस्रो कक्षबाट राजधानी काठमाडौंलगायतको दृष्यअवलोकन गर्न सकिनेछ। पहिलो कक्षामा १ सय ५० जना र दोस्रो कक्षामा १ सय १३्र जनाले एकैचोटी अवलोकन गर्न सक्ने विभागले बताएको छ।

प्रतिक्रिया दिनुहोस्