निर्वाचनबाट विद्यार्थी संगठन पनि भाग्दै स्ववियुको मनोनयन जताततै अवरुद्ध



कतै तालाबन्दी, कतै आगजनी
ईश्वरराज ढकाल, काठमाडौं
जो शनिबार हुनुपर्ने स्ववियु निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता प्रभावित भएको छ। तीन दिनपछि यही फागुन १८ गते हुनुपर्ने स्ववियु निर्वाचन यसैका कारण अप्ठइरोमा पर्ने अवस्था उत्पन्न भएको छ। अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले नेविसंघका कारण निर्वाचनको प्रक्रिया रोकिएको आरोप लगाएका छन्। तर नेविसंघले त्यसको ठाडै प्रतिवाद गर्दै अनेरास्ववियुले कतिपय क्याम्पसमा आफैले तालाबन्दी गरेको आरोप लगाएको छ। हिजो मनोनयन दर्ता गर्ने अन्तिम समय दिउँसो ३ बजेसम्म उपत्यकाका दुईबाहेक सबै क्याम्पसमा तालाबन्दी गरिएको छ। उपत्यकामा त्रिविअन्तर्गत २२ वटा आंगिक क्याम्पस रहेका छन्। मनोनयन रोकिएपछि त्रिविले विद्यार्थी संगठनसँग पुनः छलफल गर्ने तयारी गरेको छ। ‘हामी अहिले नै चुनाव स्थगित गर्ने पक्षमा छैनौं, तर यही अवस्थामा क्याम्पस प्रमुखहरूलाई निर्वाचन गर्नुस् भनेर भन्न सक्ने अवस्थामा पछि छैनौं। –निर्वाचन मूल समितिका अध्यक्ष एवम् त्रिविका रेक्टार प्राडा सुधा त्रिपाठीले भन्नुभयो। उहाँले उपत्यकाका सबै क्याम्पसमा मनोनयन प्रक्रिया अवरुद्ध भएको बताउनुभयो। पूर्वको मेची र पोखराको महेन्द्र बहुमुखी क्याम्पसबाहेक अधिकांश क्याम्पसमा मनोनयन प्रक्रिया अवरुद्ध भएको बताउँदै भन्नुभयो– ‘यस्तो अवस्थामा कसरी निर्वाचन गर्न सकिन्छ? उहाँले मनोनयन प्रक्रियालाई एक दिनपछि सारेर भए पनि निर्वाचन प्रक्रिया अघि बढाउन सबै क्याम्पस प्रमुखलाई निर्देशन दिएको बताउनुभयो।

मनोनयन दर्ता भइसकेपछि थापाथली, रत्नराज्य र शंकरदेवमा तालाबन्दी भएको थियो। अनेरास्ववियुका महासचिव ऐन महरले नेविसंघले साना विद्यार्थीको आडमा राजधानीका अधिकांश क्याम्पसमा तालाबन्दी गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हार्ने मानसिकता भएपछि उनीहरूले तालाबन्दी गरेका हुन्। उहाँले नेविसंघले बाहिर निर्वाचनको पक्षमा देखिएपछि भित्रीरुपमा निर्वाचन भाँड्न लागिपरेको उहाँको भनाइ थियो।

अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेतले नेविसंघका विद्यार्थीले अधिकांश क्याम्पसमा तालाबन्दी गरेको आरोप लगाउनुभयो। उहाँले नेविसंघकै कारण निर्वाचन हुन नसक्ने स्थितिमा पुगेको दाबी गर्नुभयो। नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले भने अनेरास्ववियुले कतिपय क्याम्पसमा प्लस टु पढ्दै गरेका विद्यार्थीलाई मतदान गर्न दिनुपर्ने भन्दै तालाबन्दी गरेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो– ‘हामी त सधैं चुनावको पक्षमा छौं, अनेरास्ववियु भाँड्न लागि परेको छ।

उहाँले लोकल लेभलमा कुरा नमिलेको पाल्पा र पशुपति क्यम्पसबाहेक अन्यमा नेविसंघले तालाबन्दी नगरेको उहाँको जिकीर थियो।

दुई ठूला विद्यार्थी संगठनले नेविसंघद्वारा वैद्य, नयाँशक्ति र विप्लवनिकट माओवादी विद्यार्थी संगठनको आडमा तालाबन्दी गरेको आरोप लगाएका छन्। उता वैद्यनिकट विद्यार्थी संगठनले आंशिक रकम तिरेर र निर्वाचनको मिति घोषणा हुनुअघि भर्ना गरेका विद्यार्थीको भर्ना खारेज गर्नुपर्ने जनाउँदै निर्वाचन गर्न नदिने जनाएको छ। सो संगठनका अध्यक्ष सेवन्तराज भण्डारीले हिजो शनिबार वक्तव्य जारी गरी सबै संगठनलाई सहभागी नगरेसम्म निर्वाचन हुन नदिने जनाउनुभएको छ। देशभरका ६० आंगिक क्याम्पसमध्ये अधिकांश क्याम्पसमा वैद्य तथा विप्लव निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् भने केही क्याम्पसमा नेविसंघ र नयाँशक्तिनिकट विद्यार्थी संगठनले पनि तालाबन्दी गरेका छन्।

विद्यार्थी भर्नालगायतका विवादका कारण केही क्याम्पसहरूमा आगजनी र तालाबन्दी भएको छ। भर्ना विवादका कारण त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ। मिनभवन क्याम्पसमा फोरम लोकतान्त्रिकका विद्यार्थीहरूले शुक्रबार राति लेखा शाखामा आगजनी गरिदिएका छन्। सो क्याम्पसमा स्ववियु निर्वाचन पनि अनिश्चित भएको छ। त्यस्तै विश्वभाषा क्याम्पसमा विद्यार्थीले रजिस्टर जलाइदिएका छन्। पाटन र केन्द्रीय क्याम्पस कीर्तिपुरमा शुक्रबार तालाबन्दी गरिएको छ। राजधानीका अधिकांश आंगिक क्याम्पसमा समेत तालाबन्दी भएको छ। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मिकी क्याम्पसमा समेत तालाबन्दी भएको छ। सो क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको अन्य संगठनको आरोप छ।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले सेमस्टरमा अध्ययनरत विद्यार्थीलाई मतदान गर्ने अधिकार नदिएका कारण तालाबन्दी गरेको जनाएका छन्। उनले अधिकार कटौती गरेका कारण तालाबन्दी गरेको हुनसक्ने बताए। उनले नेविसंघ चुनावको विरोधमा नभएको तर क्यम्पस प्रशासनले मनपरी गरेपछि आगजनी गरेको हुनसक्ने जनाए। नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन हुने रटान दोहोर्याए पनि उनकै विद्यार्थीले केही क्याम्पसमा तालाबन्दी गरेका छन्।

नेविसंघले अहिलेसम्म आफ्नो उम्मेदवारी तय गर्न समेत सकेको छैन। प्रत्येक २ वर्षमा हुनुपर्ने निर्वाचन विद्यार्थी संगठनहरूको विवादकै कारण लगातार स्थगित हुँदै आएको छ। यो वर्ष पनि सोही कारणबाट स्थगित हुने सम्भावना बढेको छ। यसपटक स्ववियु निर्वाचनकै इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रित चुनाव प्रणाली अपनाइँदै छ। उमेर हदको विरोधमा रहेका नेविसंघका केही पक्षले केही क्याम्पसमा तालाबन्दी गरेको अन्य विद्यार्थी संगठनको आरोप छ। कतिपय संगठनलाई चाहिं निर्वाचन भएमा आफ्नो संगठन हार्ने ठानेरसमेत उनीहरू प्रक्रियाबाट भाग्न बिथोल्ने प्रयासमा लागेका छन्। यसअघि २०६९ र २०७० मा स्ववियु निर्वाचन गर्ने तयारी भए पनि विद्यार्थी संगठनबीच प्रणालीबारे विवाद हँुदा रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्