कांग्रेसभित्र तीव्र असन्तुष्टि



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै असन्तुष्ट पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदहरूले तत्काल केन्द्रीय समिति बैठक आ≈वान गर्न आग्रह गरेका छन्। साथै सभापति देउवाले विधि र प्रक्रियाविपरीत पार्टी अघि बढेको भन्दै असन्तुष्ट नेताहरूले चर्को आलोचना पनि गरेका छन्।

सभापति देउवाको कार्यप्रति असन्तुष्ट रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, बलबहादुर केसी, आनन्द ढुंगानालगायत पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदहरूको शनिबार बसेको बैठकले सभापति देउवालाई तत्काल केन्द्रीय समिति बैठक आ≈वान गर्न आग्रह गर्दै लिखित–पत्र दिन वरिष्ठ नेता पौडेललाई म्यान्डेटसमेत दिइएको छ।

महामन्त्री डा. कोइरालाको निवासमा शनिबार बसेको कांग्रेस नेताहरूको बैठकले सभापति देउवाको कार्यशैलीप्रति चर्को आलोचना गर्दै तत्काल केन्द्रीय समितिको बैठक आ≈वान गर्न आग्रह गरिएको केन्द्रीय सदस्य बलबहादुर केसीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

मुलुकमा स्थानीय निर्वाचन, संविधान संशोधनको कुरा राष्ट्रिय राजनीतिमा तातो विषय भए पनि यसबारे सभापति देउवाले पार्टीमा कुनै छलफलसमेत नगरेको भन्दै असन्तुष्ट नेताहरूले चर्को आलोचना गरेका छन्।

मुलुक निर्वाचनतर्फ उन्मुख हुँदै छ। सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको छ भने निर्वाचन आयोगलेसमेत निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ। स्थानीय निर्वाचन मात्र होइन एक वर्षभित्र अर्को दुईवटा संघीय र प्रान्तीय निर्वाचन गर्नुपर्ने संवैधानिक वाध्यताअनुसार मुलुक अघि बढिरहेको छ। कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले भन्नुभयो– ‘यसबारेमा आन्तरिक छलफल गर्न तत्काल केन्द्रीय समिति बैठक बस्नुपर्नेछ।

सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्ट रहेको नेताहरूको बैठकले सरकारसमेत गलत ढंगले सञ्चालन भइरहेकाले केन्द्रीय समिति बैठकले समिक्षा गर्नुपर्ने बताएको थियो।

सरकारले राजदूत नियुक्ति तथा आईजीपी नियुक्ति सिफारिशमा गलत मान्छेलाई सिफारिश गरेको भन्दै यसबारेमा पनि केन्द्रीय समितिको बैठकमा छलफल हुनुपर्ने उनीहरूको माग रहेको छ। साथै स्थानीय निर्वाचन र संविधान संशोधनको विषयमा पनि पार्टीले आधिकारिक धारणा बनाएर अघि बढ्नका लागि पनि तत्काल सभापतिले केन्द्रीय समितिको बैठक आ≈वान गर्नुपर्ने पनि बताएका छन्।
सभापति देउवाले कतिपय जिल्लामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भइसकेको अवस्थामा पनि फेरि उल्टाएर आफू निकट नेतालाई जिल्ला नेतृत्व सुम्पने तयारी गरेको भन्दै असन्तुष्ट नेताहरूले सभापतिको आलोचना पनि गरेका थिए।

स्थानीय निर्वाचन घोषणा हुनु अगावै कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचनको परिणामले अन्य दुई निर्वाचनको परिणाम निर्धारण गर्ने भन्दै कांग्रेसले जसरी पनि यो निर्वाचन जित्नुपर्ने बताउनुभएको थियो।

स्थानीय निर्वाचनमा विजयी हासिल हुने गरी परिचालन हुन आम कार्यकर्तालाईसमेत सभापति देउवाले पटक–पटक निर्देशन दिनुभएको थियो। साथै उहाँले आन्तरिक रूपमा पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिनुपर्ने पनि बताउँदै आउनुभएको थियो। तर, पार्टीभित्र आन्तरिक संगठन मजबुत बनाउन सभापति देउवा आफैं अलमल गरिरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्