कुनै पनि बहानामा चुनाव रोकिँदैनः देउवा



यमलाल भुसाल, बुटवल
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै सरकारले घोषणा गरेको निर्वाचनमा होमिनका लागि कार्यकर्तालाई निर्देशन दिनुभएको छ। उहाँले मुलुकमा नेपाली कांग्रेसबाहेक लोकतान्त्रिक पार्टी अरु कोही नभएकाले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले नै जित्ने गरी चुनावको तयारी गर्न पनि निर्देशन गर्नुभयो।

वीपी. कोइराला अध्ययन प्रतिष्ठान रुपन्देहीले निर्माण गरेको नवनिर्मित भवन उद्घाटन तथा सोही प्रतिष्ठानले प्रकाशन गरेको वीपी. स्मृति स्मारिकाको शनिबार बुटवलमा विमोचन गर्दै सभापति देउवाले संविधान कार्यान्वयनका लागि पनि निर्वाचन अपरिहार्य रहेकाले निर्वाचनमा होमिनका लागि निर्देशन गर्नुभएको हो। लामो समयदेखिको लडाइँपछि प्राप्त भएको संविधानको सफल कार्यान्वयनका लागि आगामी माघभित्रमा तीन तहको निर्वाचन गर्नैपर्ने भएकाले यो वा त्यो बहानामा चुनावलाई कसैले पनि विथोल्न नहुने भनाइ उहाँले राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्