निर्वाचन आयोगले निर्वाचन अधिकृतलगायतका कर्मचारी माग्दै



काठमाडौं, (नेस)
आगामी स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले न्यायपरिषद् र न्यायसेवा आयोगसँग निर्वाचन अधिकृतलगायतका कर्मचारी माग्ने तयारी गरिरहेको छ।

आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने दिन सरकारले घोषणा गरेपछि निर्वाचन आयोगले अन्य तयारीसँगै निर्वाचन अधिकृतलगायत कर्मचारी माग्ने तयारी गरिरहेको हो। कानुनमा निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हुने व्यवस्था रहेको र अन्य कर्मचारी पनि न्यायसेवाअन्तर्गतका कर्मचारी हुने व्यवस्था गरेबमोजिम आयोगले उनीहरूलाई माग गर्ने भएको हो।
कानुनमा जिल्ला न्यायाधीश न्यायपरिषद् र कर्मचारीहरू न्यायसेवा आयोगबाट माग गर्ने व्यवस्था छ। न्यायपरिषद् र न्यायसेवा आयोगको सिफारिसमा न्यायाधीश र कर्मचारी उपलब्ध हुने व्यवस्था कानुनमा छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचन अधिकृत र अन्य कर्मचारीहरू न्यायपरिषद् र न्यायसेवा आयोगबाट माग गर्ने तयारी भइरहेको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अब हामीले निर्वाचन अधिकृत र अन्य कर्मचारी मगाउने तयारी गरिरहेका छौं। यस बारेमा छिट्टै निर्णय हुनेछ। निर्णय हुने बित्तिकै हामीले पत्र पठाउँछौं।
सरकारले देशभर नै एकैचरणमा स्थानीय तहको निर्वाचन गर्नका लागि आगामी वैशाख ३१ गते तिथिमिति तोकिसकेको छ। निर्धारित मितिमा नै सो मिति सम्पन्न गर्न आयोगले विदाको दिनमा पनि कार्यहरू गरिरहेको छ।

स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि के कति निर्वाचन अधिकृत र कर्मचारीहरू चाहिन्छ भन्ने बारेमा निर्वाचन आयोगले यकिन गर्न लागेको पनि बताइएको छ।

प्रमुख निर्वाचन आयुक्त यादवले नेपाल समाचारपत्रसँग कुरा गर्दै के कति संख्यामा त्यस्ता न्यायाधीश र कर्मचारी चाहिन्छ भन्ने बारेमा आफूहरूले हिसाब किताब गर्न लागेको र सो सकेपछि तुरुन्त न्यायपरिषद् र न्यायसेवा आयोगबाट मागिने उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्