स्ववियुमा आज उम्मेदवारी



ईश्वरराज ढकाल, काठमाडौं
चार दिनपछि हुन लागेको स्ववियु निर्वाचनमा आज शनिबार उम्मेदवारले मनोनयन दर्ता गर्ने भएका छन्। आठ वर्षपछि हुन लागेको निर्वाचनमा राजधानीलगायतका देशका अधिकाश क्याम्पसमा विद्यार्थी र उम्मेदवारको चहलपहल बढेको छ।

त्रिवि र महेन्द्र संस्कृत विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा हुने निर्वाचनमा विद्यार्थीको उत्साह बढेको छ। निर्वाचनको सुरक्षाका लागि देशैभरका क्याम्पसमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री विमलेन्द्र निधि, तीनवटै विद्यार्थी संघ–संगठनका अध्यक्ष र त्रिविका पदाधिकारीसहितको सहमतिपछि ५ दिनपछि सारेर हुन लागेको निर्वाचनका लागि क्याम्पस निर्वाचन समतिले बिहीबार नै मनोनयनपत्र उपलब्ध गराएको थियो।

त्रिविका ६० आंगिक क्याम्पसमध्ये करिब डेढ दर्जनमा निर्वाचन हुन नसके पनि अन्यमा निर्वाचन हुने निश्चित भएको छ।

त्रिविअन्तर्गत उपत्यकामा २२ वटा आंगिक क्याम्पस रहेका छन्। तीमध्ये एकाधबाहेक सबै क्याम्पसमा निर्वाचन प्रकृया अघि बढिसकेको छ। अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले राजधानीका अस्कल, पशुपति, त्रिचन्द्र, मीनभवन, सरस्वती, वानेश्वरबाहेकका क्याम्पसमा निर्वाचन प्रकृया शुरु भइरहेको जानकारी दिनुभयो। उहाँले स्थगित भएका क्याम्पसमा विद्यार्थी संगठनको सहमतिमा पुनः अर्को मिति घोषणा गरी निर्वाचनको प्रकृया अघि बढ्ने भएको छ। अनेरास्ववियुका महासचिव ऐन महरले भर्नाको विवादका कारण त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रकृया रोकिएको बताउँदै सहमति हुनासाथ पुनः शुरु हुने बताउनुभयो।

मीनभवनमा भने फोरम लोकतान्त्रिकका विद्यार्थीले शुक्रबार राति लेखा शाखामा आगजनी गरेका थिए। आगजनीका कारण सो क्याम्पसमा निर्वाचन प्रकृया अनिश्चित भएको छ। क्याम्पस प्रसासनले आगजनीबाट करिब ४० लाख रुपियाँ नोक्सान भएको दाबी गरेको छ। कार्यतालिकाअनुसार आज फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ। १५ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने भएको छ। १५ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। त्यस्तै सोही दिन ५ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी कार्यतालिका सार्वजनिक गरेको छ।

उपत्यकाका ४८ वटा क्याम्पसमध्ये केहीमा क्याम्पस प्रशासनले निर्वाचन गर्न नदिएको जानकारी गराउँदै अनेरास्ववियुका महासचिव महरले हालसम्म थलीको कान्तिपुर क्याम्पस, बालाजुको मनमोहन कलेज, कुलेश्वरको जनमैत्री र बालकुमारीको काठमाडौं फरेस्ट्रीले निर्वाचन गर्न आनाकानी गरेको बताउनुभयो।

हामी ती क्याम्पसमा जसरी भए पनि निर्वाचन गर्न आग्रह गर्दै आएका छांै, यदि अटेर गरी निर्वाचन गर्न नखोजे आन्दोलन गर्न बाध्य हुनेछौं –उहाँले भन्नुभयो। निर्वाचन गर्न तयार भएका संगठनले क्याम्पसमा प्रचार शुरु गरेका छन् कार्यतालिका प्रकाशित गरेपछि प्रचारप्रसार गर्न नपाउने भनिए पनि अधिकांश क्यम्पसले आन्तरिक सहमति गरेर क्यम्पसमै कार्यक्रम गरिरहेका छन्।

अनेरास्ववियु क्रान्तिकारीले कोटेश्वर, अनेरास्ववियुले ताहाचललगायतका क्याम्पसमा प्रचार कार्यक्रम गरिरहेका छन्। सहमति गरेर कार्यक्रम गर्न छुट रहेको बताउँदै अनेरास्ववियुका अध्यक्ष न्यौपानेले क्यम्पस कम्पाउन्डमा जस्तोसुकै कार्यक्रम सञ्चालन गर्न सक्ने स्पष्ट पार्नुभयो। क्याम्पस हाताभित्र कार्यक्रम गर्न नपाएका विद्यार्थी संगठनले नजिक रहेको खुला स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

उता स्थानीय निर्वाचन गरे लगत्तै मधेस केन्द्रित विद्यार्थी संगठनले २ नम्बर प्रदेशअन्तर्गत तराईका आठ जिल्लाका क्याम्पसमा तालाबन्दी गरेका छन्। विद्यार्थी नेताहरूले सिरहा, सप्तरी, धनुसा, महोत्तरी, बारा, पर्सा, रौतहटलगायत जिल्लाका आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन्। सरकारले स्थानीय निर्वाचन घोषणा गरेकै दिनदेखि तालाबन्दी गरेका विद्यार्थी संगठनका नेताले तत्काल निर्वाचन रोक्नुपर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्