पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड



काठमाडौँ, १३ फागुन । महाशिवरात्रिका दिन आज बिहान ३ः३० बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ ।

बिहान २ः३० बजेदेखि भक्तजन दर्शनका लागि लाइनमा बसेका थिए । दर्शनका लागि ३ः३० बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले राससलाई जानकारी दिनुभयो ।

उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

“बिहानी समयमा २० देखि २५ मिनेटमा दर्शन गरी फर्कन सकिनेछ”, उहाँले भन्नुभयो । पशुपतिको पूर्व ढोका भने ७ः३० बजेपछि खुल्ने जनाइएको छ । महाशिवरात्रिका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, दुईहजार पाँचसय सशस्त्र प्रहरी र चारसय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । गत वर्ष सशुल्क दर्शनका माध्यमबाट कोषले रु ३५ लाख सङ्कलन गरेको थियो । महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले फागुन ११ गतेदेखि नै पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् ।

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा पूजा एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ । रासस

प्रतिक्रिया दिनुहोस्