तोकिएकै मितिमा स्थानीय निर्वाचन हुन्छः ओली



सिन्धुली, (नेस) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचन कसैले रोक्न नसक्ने बताउनुभयो। नेकपा एमाले सिन्धुलीले आयोजना गरेको ३६औं ऋषिराज देवकोटा (आजात) स्मृति दिवस तथा परिषद् सदस्य भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले बाध्य भएर घोषाण गरेको निर्वाचन तोकिएको मितिमा नै भएर छाड्ने र कात्तिक मसान्तभित्र प्रदेश सभाको निर्वाचन हुने दाबी गर्नुभयो।

अध्यक्ष ओलीले निर्वाचनको मिति घोषणा भइसकेकाले अहिले संविधान संशोधनको प्रस्ताव सान्दर्भिक नहुने भन्दै संविधान संशोधनका लागि संसद्मा टेबल गर्न नदिने बताउनुभयो। राष्ट्र र जनताको हितविपरीत संविधान संशोधन हुन नदिने दाबी गर्नुभयो।

संसद्मा संविधान संशोधनको प्रस्तावलाई ल्याइए पनि एमालेले संविधान संशोधन प्रस्ताव पास गर्न नदिने दोहोर्याउनुभयो। लामो समयदेखि स्थानीय निकाय प्रतिनिधिविहीन भएको अवस्थामा स्थानीय निकायको निर्वाचको मिति घोषणा भइसकेको र अबको स्थानीय निकायमा एमालेलाई पहिलो पार्टी बनाउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो। नेकपा माओवादी केन्द्रलगायतका अन्य दलहरूको संविधान संशोधनको ढिपीले गर्दा स्थानीय निकायको निर्वाचनलाई ओझेलमा पार्ने षड्यन्त्र भएको समेत आरोप लगाउनुभयो।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई हेटौंडा–चतार राजमार्ग पीडित संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझ्दै ओलीले भन्नुभयो– ‘हेटौंडा–चतार राजमार्गको शुरुआतमा आफैंले गरेको हुँ, यसले सिन्धुलीलाई सम्वृद्ध बनाउनेछ तर पनि धेरै बस्ती तथा सम्पत्तिको क्षति नगरी राजमार्ग विस्तार गरिनुपर्छ भन्ने भेरो भनाइ हो, यदि आज म प्रधानमन्त्री भएको भए तपाईंका माग सबै पूरा हुन्छन् भनिदिन्थें तर अहिले प्रतिपक्षमा रहेकाले तपार्इंले पैसा तिर्नु अनपर्ने फिस नलाग्ने वकिल भनेर तपार्इंका माग सम्बन्धित निकायसम्म पुर्याउनेछु।’

नेकपा एमाले जिल्ला अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा संसद् गणेशकुमार पहाडी, उपाध्यक्ष प्रह्लाद पोख्रेललगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्