राजनीतिक खिचातानीले भक्तपुरमा अझै भएन युवा समिति पूर्ण



नेपाल समाचारपत्र
भक्तपुर
क्तपुरमा जिल्ला युवा समितिको कार्यालय खुलेको एक वर्ष बित्न लागे पनि राजनीतिक भागवण्डा नमिल्दा अझै समितिले पूर्णता पाउन सकेको छैन।

समितिको जिल्ला अध्यक्ष राष्ट्रिय युवा परिषद्बाट ४ वर्षका लागि नियुक्त हुने व्यवस्था भए पनि भक्तपुरमा अझै यो पद रिक्त रहेको छ। राजनीतिक खिचातानीका कारण जिल्ला अध्यक्षलगायत ६ जना सदस्यसमेत मनोनयन हुन नसकेको कार्यालय स्रोतको भनाइ छ। कार्यालयले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख पदमराज जोशीले समितिले प्राविधिक कारणले पूर्णता पाउन नसकेको बताउँदै यसले छिटै पूर्णता पाउने अपेक्षा गर्नुभयो।

समितिले पूर्णता किन नपाएको राजनीतिक भागवण्डा नमिलेर हो ? भन्ने जिज्ञाशा राख्दा उहाँले कारण तपाईंहरूले भनेजस्तै हुनसक्ने भए पनि हामीले भन्ने जवाफ प्राविधिक कारणले हो भन्दै पन्छनुभयो। कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख मुक्तिसिंह अधिकारीले देशका ६० जिल्लामा समितिले पूर्णता पाएको तर भक्तपुरलगायत १५ जिल्लामा पूर्णता पाउन बाँकी रहेको बताउनुभयो। दल र तिनका नेताले आ–आफ्ना पार्टी र नजिकका व्यक्तिलाई समितिमा नियुक्ति गर्न खोज्दा र राजनैतिक समन्वय नहुँदा समितिले पूर्णता पाउन नसकेको स्रोतले बतायो।

प्रशासकीय प्रमुख अधिकारीले परिषद्को मुख्य नीति नेपाली युवाहरूको सर्वांगिण विकास गरी उनीहरूलाई सक्षम, आत्मनिर्भर र सकारात्मक मनोवृत्तिका साथ राष्ट्र निर्माणमा सरिक गराउने रहेको बताउनुभयो। राष्ट्रिय युवा परिषद्का उपसचिव देवीप्रसाद अधिकारीले आम युवा सहभागिता, सहकार्य र नेतृत्व विकासमार्फत् आगामी १० वर्षभित्र राष्ट्रिय समृद्धि, समानता र सामाजिक न्याय हासिल गर्दै देशलाई विकासशील राष्ट्रमा पुर्याउन सक्षम जनशक्ति तयार गर्ने अभियानमा परिषद् लागेको बताउनुभयो।

कायक्रममा जिल्ला कार्यालय प्रमुख जोशीले कार्यालयको संक्षिप्त परिचय र कार्यालयका मुख्य कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो। भक्तपुरका पत्रकार माझ कार्यालयले पहिलोपटक आयोजना गरेको कार्यक्रममा जिल्लामा क्रियाशील अधिकांश पत्रकारको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्