जनक शिक्षालाई भ्याई नभ्याई पहिलो प्राथमिकता मतपत्र कि पुस्तक



ईश्वरराज ढकाल, काठमाडौं
स्थानीय निर्वाचनमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले करिब डेढ करोड मतपत्र छपाइ गर्ने भएको छ। निर्वाचन आयोगले केन्द्रलाई मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन निर्देशन दिएपछि आयोगले उक्त परिमाणको मतपत्र छपाइ गर्न सम्पूर्ण तयारी भएको जनाएको छ।

केन्द्रलाई मेसिन मर्मत गर्न आयोगले आवश्यक रकम उपलब्ध गराउने बचन दिएपछि केन्द्रले मर्मत रकम माग गर्न लागेको छ। केन्द्रले मेसिन मर्मत र गोदाम निर्माण गर्न आयोगसँग तत्काल २ करोड ६० लाख रुपियाँ माग्न लागेको हो। आयोग आवश्यक पर्ने रकम दिन मन्जुर भएको छ।

केन्द्रका महाप्रबन्धक महेश तिमल्सिनाले मतपत्र छपाइका लागि तयारी तीव्र बनाएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘चैत पहिलो सातादेखि छपाइको काम शुरु गर्नेछौं।’ केन्द्रले आयोगसमक्ष आज शुक्रबार विस्तृत विवरण पेस गर्ने तयारी गरेको छ। केन्द्रका निर्देशक कपिल पोखरेलले आठवटा मेसिन २४सै घण्टा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो। ‘रकम आउनेबित्तिकै गोदाम बनाउनेछौं, त्यसपछि कागज खरिद गरेर मतपत्र छपाइ शुरु गर्नेछौं।

केन्द्रले मतपत्र छपाइ गर्न थालेपछि कक्षा ११ र १२ को प्रश्नपत्र छपाइमा समस्या हुने भएको छ। कक्षा ११ र १२ को पश्नपत्र छपाइ गर्न के गर्ने ? भन्ने विषयमा मन्त्रालयमा छलफल जारी रहेको छ। यसअघि तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद्ले केन्द्रलाई नै प्रश्नपत्र छपाइको जिम्मा दिने गरेको थियो।

‘यो विषयमा हामीले छलफल गरिरहेका छौं’, केन्द्रका महाप्रबन्धक तिमल्सिनाले भन्नुभयो– ‘सकभर म्यानेज गर्छौं, नभए शिक्षा मन्त्रालयले अर्को विकल्प खोज्ला।’

राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव डा. दिल्ली रिमालले अहिलेसम्म कुनै निर्णय भइनसकेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले यो विषयमा छलफल गरिरहेका छौं। केन्द्रले प्रश्नपत्र छपाइ गर्न नसक्ने जनाए विदेश लैजाने वा नेपालमै छपाइ गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको छ।’

बोर्डले बुधबार प्रश्नपत्र छपाइ र परीक्षाको विषयमा निर्वाचन आयोगसँग छलफल गरेको थियो। उता मतपत्र छपाइ गर्न थालेपछि आगामी वर्ष विद्यालय तहको पाठ्यपुस्तकको चरम अभाव हुने सम्भावना बढेको छ। केन्द्रले पुस्तक र मतपत्र सँगसँगै छपाइ गर्ने दाबी गरे तापनि त्यो सम्भव छैन। ‘हामी कसरी हुन्छ पुस्तक र मतपत्रको व्यवस्थापन गर्नेछौं’ –केन्द्रका महाप्रबन्धक तिमल्सिनाले नोपाल समाचारपत्रसँग भन्नुभयो।

उहाँले सरकारले दिएको जिम्मेवारी पूरा गर्न आफूहरू सक्दो प्रयास गरिरहेको दाबी गर्दै पुस्तक र मतपत्र छपाइ गरेरै छाड्ने स्पष्ट पार्नुभयो। अहिले झन्डै १ करोडको संख्यामा पाठ्यपुस्तक छपाइ गर्न बाँकी छ। आयोगले मतपत्र छपाइका लागि केन्द्रलाई तयार रहन निर्देशन दिएपछि केन्द्रका अधिकांश अधिकारी मतपत्र छपाइमा लागेका छन्।

पहिलो प्राथमिकता मतपत्र कि पुस्तक भन्ने विषय छुट्याउन नसक्दा समस्या पर्ने देखिएको छ। केन्द्रले अन्य निजी प्रेसलाई दिएर भए पनि पुस्तक अभाव हुन नदिने दाबी गरेको छ । मतपत्र छपाइ गर्दा पाठ्यपुस्तकलाई समस्या पर्दैन भन्ने प्रश्नमा महाप्रबन्धक तिमल्सिनाले भन्नुभयो– ‘हामी सबै चिजको व्यस्थापन गर्नेछौं।

प्रतिक्रिया दिनुहोस्