विखण्डनकारीविरुद्ध सेनाको चेतावनी



काठमाडौं, (नेस)
प्रधानसेनापति राजेन्द्र क्षत्रीले हाल केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुको साथै केही समूहहरूले हतियार उठाउने धम्की दिइरहेको कारण नेपाली समाजमा युगौंदेखि चल्दै आएको सांस्कृतिक एवम् सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको बताउनुभएको छ।

सेना दिवस तथा महाशिवरात्रिका अवसरमा बिहीबार सकल दर्जालाई सम्बोधन गर्दै पुर्खाको रगत र पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिहरूलाई निस्तेज गर्न नेपाली सेना तयारी हालतमा रहेको समेत व्यक्त गर्नुभएको थियो।

नेपाली सेना सारा नेपालीहरूको साझा राष्ट्रिय सेना भएको बताउनुहुँदै राज्य सङ्कटमा पर्दा होस् वा विपद्मा सेनाले गरेको निःस्वार्थ सेवाले नेपाली जनताको सेनाप्रतिको अगाध विश्वास, आस्था र भरोसा जितेका कारण सेनाको हौसला र ऊर्जाको स्रोत भएको बताउनुभएको छ।

उहाँले हाम्रो अखण्ड सुनौलो इतिहासलाई जीवित राख्न, राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न सेना तयार रहेको बताउनुभएको छ।

उहाँले सरकारद्वारा दिइने सबै जिम्मेवारीहरू पूरा गर्न कुनै कसर बाँकी नराख्ने र प्राप्त हुने सबै किसिमका जिम्मेवारी पूरा गर्न नेपाली सेनालाई सक्षम, व्यावसायिक सैनिक सङ्गठनको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यअनुरूप उपलब्ध स्रोत साधनहरूको अधिकतम् प्रयोग गरी सबल र सक्षम सङ्गठन तयार गर्ने, नागरिक–सैनिक सम्बन्धलाई सुदृढ गर्ने उल्लेख गर्नुभएको छ।

उहाँले सैनिक कूटनीतिको माध्यमबाट मित्रराष्ट्रका सैनिक सङ्गठनहरूसँग आपसी हितमा दुई पक्षीय पेसागत सम्बन्धलाई अझै मजबुत बनाउने बताउँदै बंगलादेश तथा चीनसँग पनि संयुक्त अभ्यास गर्ने बताउनुभएको थियो।

प्रधानसेनापति क्षत्रीले नेपाली सेना, राष्ट्रको पहरेदार, राष्ट्रिय एकताको प्रतिविम्ब, आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्