भक्तपुर मालपोतमा अख्तियारको छापा ,दुई कर्मचारीसहित तीन पक्राउ



पुष्कर बुढाथोकी,भक्तपुर, (नेस) ।

भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालयमा छापा मारी दुई कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ ।मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशबबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतूलाई नगदसहित पक्राउ गरेको हो । उनीहरूलाई सेवाग्राहीसँग रु ६ लाख १४ हजार घूस लिएको अभियोगमा अख्तियारले बुधबार राति नियन्त्रणमा लिएको हो ।

मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारले नासु बुढाथोकी, कार्यालय सहयोगी खत्री र लेखापढी व्यवसायी न्हिुसुतूलाई नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ ।

अख्तियारमा परेको निवेदन अनुसार अख्तियारले अनुसन्धान थालेको अख्तियारका कर्मचारी गोकुल पन्तले बताउनुभयो ।अख्तियारले विशेष रसायनसहितको नोट योजनाबद्ध रुपमा अभियुक्तहरूलाई घूसस्वरुप बुझाएको थियो। अख्तियारले आफूले बुझाएको प्रत्यक नोटको नक्कल प्रति राखेको थियो । सोअनुसार सम्पूर्ण नोट भिडाएर हेर्नुका साथै अभियुक्तहरूको रंगेहात परीक्षण गरिएको थियो ।

बुधबार राती अबेर सम्म मुचुल्का उठाउन अख्तियार कर्मचारी व्यस्त थिए । साँझ घर जान लागेका उनीहरुलाई आवश्यक अनुसन्धानको निम्ति भनी कार्यालयमै रोकिएको थियो ।

झन्डै एक हप्ता अघि देखि पीडितको उजुरीलाई आधार मानेर अनुसन्धान गरिरहेको अख्तियारले घुस सहित सबैलाई प्रत्यक्ष नियन्त्रणमा लिएको हो ।

घुस लिनेहरुलाई अख्तियारले बिहान ११ बजे देखि प्रत्यक्ष निगरानीमा राखेता पनि घुस लिने स्थान बारम्बार परिवर्तन गर्दा केही समस्या आएको र साँझ पाँच बजे देखि ६ बजेको समयमा मालपोत कार्यालयको नजिकै रहेको एक होटेलबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

भक्तपुरमा देखिएको मालपोतको घुस प्रकरणमा सेवाग्राहीको धेरै गुनासो आउने गरेको भए पनि प्रत्यक्ष घुस सहित कर्मचारीलाई नियन्णमा लिएको यो पहिलो पटक भएको सेवाग्राहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्