राप्रपाको महाधिवेशन सम्पन्न हिन्दूराज्यको एजेन्डा स्थापित गर्ने उद्घोष



नेपाल समाचारपत्र
काठमाडौं
अध्यक्षसहित ९८ जना केन्द्रीय सदस्यलाई निर्वाचित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनमा अध्यक्षका लागि २ जनाले प्रतिस्पर्धा गरेका थिए भने केन्द्रीय सदस्यका लागि ३ सय ६३ जनाले प्रतिस्पर्धा गरेका थिए।

फागुन ६ गतेदेखि शुरू भएको महाधिवेशनले सोमबार अध्यक्ष निर्वाचित गरेको थियो भने मंगलबार राति ९८ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो। अधिवेशनले चर्चामा रहेका सबै उम्मेदवारलाई विजयी गराएको छ। पार्टीमा नवप्रवेशी कलाकारहरू कोमल वली, रेखा थापा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

केन्द्रीय सदस्यमा नेता बुद्धिमान तामाङले सर्वाधिक १ हजार ९ सय २८ मत प्राप्त गर्नुभएको थियो। सर्वाधिक मत पाउने दोस्रोमा विक्रम पाण्डे र तेस्रोमा कोमल वली हुनुहुन्छ। उहाँहरूले क्रमशः १ हजार ९ सय २६ र १ हजार ८ सय ५७ मत प्राप्त गर्नुभएको थियो। महाधिवेशनमा भएको निर्वाचनमा अध्यक्षका लागि मतपत्र प्रयोग गरिए पनि केन्द्रीय सदस्यका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो।

महाधिवेशनले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका छोरा सुनिलबहादुर थापा र जयन्त चन्दलाई पनि केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ। कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपति शमशेर जबराको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी गत मंसिर ६ गते एकीकरण भएको थियो। एकीकरण भएपछि कूल १ सय ६३ सदस्य रहने केन्द्रीय समितिमा अध्यक्षसहित ६० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था बनाइएको थियो। बाँकी केन्द्रीय सदस्य र पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने व्यवस्था छ। राप्रपाको विधानमा २४ पदाधिकारीमध्ये ३ जना उपाध्यक्ष, महामन्त्री ३, प्रवक्ता १, कोषाध्यक्ष १, सहमहामन्त्री ५, सहायक महामन्त्री ७, सहायक कोषाध्यक्ष १ र सहायक प्रवक्ता २ रहने व्यवस्था गरिएको छ।

एकता महाधिवेशनपछि पार्टीले स्पष्ट गन्तव्य तय गरेको भन्दै नवनिर्वाचित अध्यक्ष कमल थापाले राष्ट्रियता, प्रजातन्त्र र उदार आर्थिक नीतिको धरातलमा रही सम्वृद्ध नेपालको निर्माणमा लाग्न सबैलाई आग्रह गर्नुभएको थियो।
महाधिवेशन सम्पन्न भएलगत्तै बुधबार आयोजित केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक तथा बधाई समारोहमा नवनिर्वाचित अध्यक्ष कमल थापाले निर्वाचित सबै केन्द्रीय सदस्य, अन्य नेता तथा कार्यकर्ताहरूलाई हिन्दूराज्यको एजन्डा लिएर जनतामाझ जान निर्देशन दिनुभएको छ।

संविधान निर्माणका क्रममा हिन्दूराज्य स्थापनामा जनमत हुँदाहुँदै पार्टीको प्रतिनिधित्व कम भएकाले एजन्डा स्थापित हुन नसकेको भन्दै उहाँले अबको निर्वाचनमा अग्रपंक्तिमा पर्ने ढंगले परिचालित हुन आग्रह गर्नुभएको थियो।
सनातन धर्म र ओमकार परिवारको पहिचान संकटमा परेको उल्लेख गर्दै उहाँले त्यसको रक्षाका लागि हिन्दूराज्य कायम गरिनुपर्ने पनि बताउनुभएको थियो। पार्टीले तत्कालीन समयमा संविधानमा आलोचनात्मक समर्थन जनाएको भन्दै अध्यक्ष थापाले संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै संविधानको परिधिभित्रै रहेर जनताको विश्वास जित्ने र आफ्नो पार्टीको एजेन्डा स्थापित गर्ने पनि बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्