सिप सिक्दै महिलाहरु



सुधारिएको चुल्हो बनाउने तालिममा इट्टा बनाएर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरु

सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु),१० फागुन ।

गाउँघरलाई धुँवारहित बनाउने अभियानका साथ कपिलवस्तु शिवपुरका महिलाहरु सुधारिएको चुलो बनाउने सीप सिक्दैछन् ।

श्रृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध महिलाहरु आफ्नो गाउँघरलाई धुँवारहित बनाउने अभियानमा जुटेका हुन् । सुधारएिको चुल्होमा खाना पकाउँदा दाउरा कम लाग्ने, खाना चाँडै पाक्ने र धुवाँ कम आउने हुँदा पनि उनीहरु यसतर्फ आकर्षित बनेका हुन् । उनीहरु अहिले सुधारिएको चुल्हो बनाउने तालिममा ज्ञानसीप सिक्न सक्रिय भएका छन् । परम्परागत चुल्होमा खाना पकाउँदा निकै सास्तै बेहोर्दै आएका महिलाहरु सुधारिएको चुल्होमा खाना पकाउँदा सजिलो हुने भएकाले तालिममा सहभागी भएको बताउँछन् ।

गाउँलाई धुवाँरहित बनाउने अभियानको रुपमा अगाडि बढाउन सहकारीमार्फत तालिम संचालन गरिएको श्रृजनशील बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुशिला खनालले बताउनुभएको छ । स्वास्थ्यको दृष्टिकोणले पनि निकै उपयोगी भएकाले सहकारीका सदस्यहरुमा यसबारे ज्ञानसीप हस्तान्तरण गर्न सुधारिएको चुल्हो बनाउने तालिम संचालन गरिएको उहाँले बताउनुभयो । गाउँघरमा अहिले पनि दाउराबाटै परम्परागत चुल्होमा खाना पकाइने गरिएको छ । जसले गर्दा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा पनि सुधारिएको चुल्हो बनाउने तालिमतर्फ जोड दिएको उहाँले बताउनुभयो ।

तालिम उद्घाटन सत्रका प्रमुख अतिथि शिवराज नगरपालिकाका प्राविधिक ताराप्रसाद भण्डारीले परम्परागत चुल्होभन्दा सुधारिएको चुल्हो स्वास्थ्यका लागि निकै लाभदायक हुने भएकाले सबैले आफ्नो घरमा यस किसिमको चुल्हो राख्नुपर्नेमा जोड दिनुभयो । समाजसेवी जगतबहादुर जिसीले सुधारिएको चुल्होले वातावरण प्रदुषण नहुने र वन संरक्षणमा समेत ठूलो सहयोग पुग्ने हुँदा सुधारिएको चुल्हो निकै उपयोगी रहेको बताउनुभयो । कार्यक्रममा सगरमाथा वेल्फेयर सोसाइटीका अध्यक्ष नेत्रप्रसाद बेल्बासेले तालिम निकै लाभदायक रहेकाले यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीकै तीनजना सदस्यहरु राधा खडका, सुशिला गिरी र माया विकले तालिमको सहजीकरण गर्नुभएको छ । मेस्डो नेपालबाट सुधारिएको चुल्हो बनाउने तालिम सिकेर उहाँहरुले सहकारीका सदस्यहरुमा सिकेको ज्ञानसीप हस्तान्तरण गर्न लागेको बताउनुभएको छ । “माटोमा भेली, नुन, चुना, भुस मुछेर सुधारिएको चुल्हो बनाइन्छ । चुल्होमा फलाम फार्गेट र ग्रिलपत्ती समेत आवश्यकता पर्दछ” –प्रशिक्षक सुशिला गिरीले जानकारी दिनुभयो । माटो तयार भएपछि इट्टा बनाएर घाममा केहीबेर सुकाइन्छ, अलि कडा भएपछि चुल्हो बनाइन्छ –उहाँले बताउनुभयो ।

सुधारिएको तालिममा सहकारीमा आबद्ध झण्डै डेढ दर्जन महिलाहरुको सहभागिता रहेको छ । तालिमपछि आफूले सिकेको सीपलाई अवलम्बन गरी गाउँलाई धुँवा रहित बनाउने अभियानमा लाग्ने सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्