रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ



काठमाडौं, ९ फागुन

एग्रिकल्चरल रिसर्च भिषामा जापानमा रोजगारीका लागि पठाउने भन्दै रकम लिई ठगी गर्ने काठमाडौं बसुन्धारास्थित चण्डिका इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका संचालक काभ्रेपलाञ्चोक सस्र्युखर्क गाविस–७ का ३१ वर्षीय देवराज तामाङलाई महानगरीय अपराध महाशाखाले फागुन ६ गते काठमाडौं बसुन्धराबाट पक्राउ गरेको छ ।

तामाङले उक्त कन्सल्टेन्सीबाट आकर्षक तलवको सुविधा भएको कुक भिषामा जापान पठाइदिने, यसबापत १४ लाख ५० हजार रुपैयाँ लाग्छ भनी खोटाङ बाहुनीडाँडा गाविस–९ की छपन सरी राईबाट पेश्की स्वरुप २ लाख ५ हजार तथा धादिङ जीवनपुरका हिरालाल ठकुरी, गोकुल रेग्मी, लक्ष्मण रेग्मी, रमेश सेढाई, बलराम गजुरेल, धादिङ छत्रेदेउरालीका शम्भुप्रसाद लोहनी, काठमाडौं सितापाईलाका सुदन भट्टराई समेत ७ जनालाई जनही ९ लाख ५० हजार लाग्ने भनी ८ लाख ४० हजार गरी जम्मा १० लाख ४५ हजार रुपैयाँ लिएर विदेश नपठाई सम्पर्क विहीन भई ठगी गरेको महाशाखामा निवेदन प्राप्त भएपछि महाशाखाको विशेष टोलीले तामाङलाई पक्राउ गरेको हो ।

साथै तामाङले निज छपनसरी राईको नाममा होटल ट्रेनिङ प्राप्त गरेको र होटलमा काम समेत गरेको अनुभव भएको नक्कली कागजात बनाई मेडिकल लगायतका प्रकृया गरी विश्वासमा पारेको खुल्न आएको छ ।

तामाङलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्