सरकार–मोर्चा बैठक निष्कर्ष विहीन



चुनाव घोषणा भए सरकारबाट समर्थन फिर्ता

बीपी साह, काठमाडौं
र्वाचनको मितिमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरेको प्रयास असफल भएको छ।

आइतबार अबेर रातिसम्म चलेको प्रधानमन्त्रीसहित सत्तारूढ दलका शीर्ष नेता र मधेसी मोर्चाका शीर्ष नेताहरूबीचको बैठक विनानिष्कर्ष टुंगिएको हो। बैठकको शुरूमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘हामी पनि मधेसका लागि राम्रौ गर्छौं, तपाईहरू बुझ्नुस्।’ त्यसपछि मधेसी मोर्चाका नेताहरूले पनि पुरानै अडान दोहोर्याएका थिए। संविधान संशोधन अगाडि नबढेसम्म निर्वाचनको मिति घोषणा भए आफूहरू आन्दोलनमा जान बाध्य हुने र सरकारलाई दिइएको समर्थन फिर्ता लिने मोर्चाका नेताहरूले बैठकमा जानकारी गराए।

बैठकपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘बैठकमा कुनै निर्णय भएन। उहाँहरूले आफ्नो पुरानै अडान राख्नुभयो, हामीले पनि आफ्नो कुरा राख्यौं।’ बैठकपछि आक्रामक देखिएका महतोले सरकारको निर्णयमा आफूहरूको निर्णय आश्रित रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘सरकारको जस्तो निर्णय आउँछ हाम्रो त्यस्तै निर्णय आउँछ। सरकारले मधेसी मोर्चालाई पेलेर गए हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडक आन्दोलनमा जान्छौं।’

त्यस्तै, बैठकपछि तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले बैठकमा कुनै सहमति नभएको बताउँदै मधेसी मोर्चालाई बाध्य भएर आन्दोलनमा पठाउने काम सत्तापक्षले गरेको प्रतिक्रिया दिनुभयो। प्रधानमन्त्रीसँगको छलफलअघि मधेसी मोर्चाको आकस्मिक बैठक तराई–मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा बसेको थियो। उक्त बैठकले पनि मोर्चालाई आफ्नै अडानमा कायम रहने निर्णय गरेको थियो।

बैठकमा मुख्य चार विषयमा छलफल भए पनि सरकारले संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे सरकारबाट समर्थन फिर्ता लिई आन्दोलनमा जाने विषयले प्राथमिकता पाएको थियो। मोर्चाको थप रणनीति बनाउन सोमबार दिउँसो दुई बजेका लागि अर्को बैठक बोलाइएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्