स्थानीय तहमै स्नातकोत्तर (डिग्री) तह संचालन हुने भएपछि स्थानीयमा उत्साह



महायज्ञमा सवा दुई करोड दान संकलन

सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), ७ फागुन ।
स्थानीय तहमै स्नातकोत्तर (डिग्री) तहसम्मको कक्षा संचालन हुने भएपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ । डिग्री तह संचालनका लागि विभिन्न दानबीरहरुले दिल फुकाएर दान सहयोग गरेका छन् ।

कपिलवस्तुको नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा स्नातकोत्तर तह संचालनार्थ श्रीमद्भागवत विराट धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञमा दानबीरहरुले खुलेरै दान गरेका हुन् । शनिबार सम्पन्न महायज्ञमा झण्डै सवा दुई करोड दान संकलन भएको महायज्ञ मूल आयोजक समिति संयोजक नेत्रराज अधिकारीले जानकारी दिनुभयो । शैक्षिक विकासले जिल्लाको पश्चिमी क्षेत्रकै विकासमा ठूलो टेवा पुग्ने विश्वासका साथ दानबीरहरुले नगद सहित भूमिदान समेत गरेका छन् ।

जिल्लाको शिवराज नगरपालिका ९, बेलौती निवासी बीरेन्द्रसिंह के.सी.ले सबैभन्दा बढी ३१ लाख ११हजार १सय ११ रुपैयाँ बराबरको ५ कठ्ठा भूमिदान गर्नुभएको छ । यस्तै शिवराज नगरपालिका ६, चन्द्रौटा निवासी लंकाबहादुर हमालले २२ लाख १सय ५५ रुपैयाँ दान गर्नुभएको छ । क्याम्पस प्रमुख शिवराज नगरपालिका १०, रहटकोलका नवराज पाण्डेयले १२ लाख १सय १ रुपैयाँ दान गर्नुभयो । यस्तै क्याम्पस संचालक समिति अध्यक्ष शिवराज नपा ६, चन्द्रौटा निवासी नेत्रराज अधिकारी र शिवराज नपा १०, खसीबजार बस्ने समाजसेवी जीवलाल पौडेलले ११ लाख ५१ हजार ५सय ५५ रुपैयाँ दान सहयोग गरेको आयोजकले जनाएको छ ।

यसैगरी शैक्षिक विकासका लागि भवनराज पौडेलबाट ६ लाख ७५ हजार ८सय ६५ रुपैयाँ, सुरही र चिराई ठेकेदार समूहबाट ५ लाख ७ हजार ७सय ७७ रुपैयाँ, दुर्गादत्त भण्डारीबाट ५ लाख रुपैयाँ दान सहयोग भएको महायज्ञ आर्थिक उपसमिति सदस्य जगतबहादुर जिसीले जानकारी दिनुभयो । यस्तै महायज्ञमा अर्जुन कुमार के.सी.ले २ लाख २ हजार ९सय ९९ रुपैयाँ, हुमकान्त खनालले १ लाख ६१ हजार १सय ५१ रुपैयाँ, भानुभक्त बरालले १लाख १३ हजार ३सय १३ रुपैयाँ, जगतबहादुर जिसीले १लाख ११हजार १सय ११, विनोद कुँवरले १लाख ११ हजार १सय ११ रुपैयाँ, सरस्वती अधिकारीबाट १ लाख १० हजार १सय २१ रुपैयाँ सहयोग गर्नुभयो । यसका साथै एक लाख भन्दा माथि सहयोग गर्नेमा महेन्द्र सिंह के.सी., खिमविक्रम के.सी., पुरन बहादुर के.सी., कमला अधिकारी र डा. प्रशुराम ज्ञवाली रहनुभएको छ । त्यसैगरी सयौंले क्याम्पसको आजीवन सदस्यका लागि ६१ हजार १सय भन्दा बढी दान गरेका छन् । भने क्याम्पसको साधारण सदस्यका लागि ५सय भन्दा बढीले १५ हजार १सय भन्दा बढी दान गरेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

स्थानीय तहमै डिग्री कक्षा संचालन हुने भएपनि गाउँ गाउँका बासिन्दाले धान, चामलका साथै नगद सहयोग गरेका छन् । स्थानीय तहमै डिग्रीसम्मको कक्षा संचालन गरी यस क्षेत्रका सर्वसाधारण सबैका लागि शैक्षिक सुविधा प्रदान गर्ने र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले महायज्ञ संचालन गरिएको हो । श्रीमद्भागवतमा बालव्यास नारायणप्रसाद न्यौपानेले कथा बाचन गर्नुभएको थियो । माघ २९ गतेदेखि संचालन भएको महायज्ञ फागुन ७ गते अर्थात शनिबार भव्यताका साथ सम्पन्न भएको आयोजकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्