कृषिको दिगो विकासका लागि सरकार लागिपरेको छः मन्त्री चौधरी



कञ्चनपुर, ७ फागुन । कृषिमन्त्री गौरीशङ्कर चौधरीले कृषि क्षेत्रको दिगो विकासका लागि सरकार लागिपरेको बताउनुभएको छ ।

बृहत्तर विकासका लागि राय सुझाव सङ्कलनको कार्य भइरहेको बताउनुभएको छ ।

आज कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ खजुवापट्टिस्थित पल्टु फिस ह्याचरीको अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “कृषि क्षेत्रको बृहत्तर विकासका लागि आगामी बजेटमा के कस्तो कार्यक्रम ल्याउन सकिन्छ, त्यसवारे मन्त्रालले देशभरीबाटै राय सुझाव सङ्कलन गरिरहेको छ ।”

मन्त्री चौधरीले आएको राय सुझावका आधारमा सरकारले किसानमुखी कृषि बजेट तर्जुमा गर्ने गृहकार्यमा जुटेको चर्चागर्दै तेलहन, दलहन, अन्नबाली, फलफूल, माछा, मासु र तरकारीमा देशलाई दश वर्षभित्रै आत्मर्निभर बनाउने गरी आगामी बजेट आउने छ भन्नुभयो ।

कृषिको दिगो विकासका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीरण आयोजना सञ्चालन गरिएको बताउँदै उहाँले कृषि क्षेत्रमा यान्त्रीकीकरण र आधुनिकीकरण गरी बीउबिजन र मलखाद्यमा आत्मनिर्भर बनाउन सरकार कटिबद्ध रहेको विचार व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले खेती गर्दा आइपर्ने समस्या समाधानका लागि सरकारले गाउँगाउँमा जेटिए राख्ने कार्यलाई अगाडि बढाइएको उल्लेख गर्दै “कृषिको उत्पादन र उत्पादकत्व बढाउने कार्यलाई अभियानका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछापालनका लागि भीमदत्तनगर र बेदकोटलाई मात्रै राखिएकोमा त्यसलाई अन्य क्षेत्रमासमेत विस्तार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

“भारतबाट मात्रै बर्सेनि रु ३३ करोडभन्दा बढीको तरकारी र फलफूल मात्रै यहाँ भित्रिने गरेकाले यसलाई निरुत्साहित गर्न जिल्लामा तरकारी र फलफूल उत्पादनमा जोड दिएको बताउँदै उहाँले चालु आवमा माछाको उत्पादनमा वृद्धि गर्न पाँच वटा माछाका नर्सरी राख्ने योजना कार्यालयको छ भन्नुभयो ।

माछाको ह्याचरी सञ्चालक पल्टु चौधरीले माछाको नश्ल सुधार र माछाको बीउ उपलब्ध भए माछाको परनिर्भरता अन्त्य गर्न सकिनेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्