युवा परिचालन गर्न रेडक्रस गोष्ठी



काठमाडौँ, ७ फागुन । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा मातहत रहेका १९ उपशाखामा कार्यरत युवा स्वयम्सेवीलाई बन्द, हडताल, विपद् र आपत्कालीन अवस्थामा सशक्त रुपमा परिचालन गर्ने उद्देश्यले शुक्रबार ‘रेडक्रस अभियानमा युवा’ विषयमा गोष्ठी आयोजना गरियो ।

रेडक्रसका गणबहाल, सीतापाइला, ब्रह्मटोल र चन्द्रागिरि उपशाखाको संयुक्त आयोजनामा भएको गोष्ठीमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधि अमरदीप सुनुवार, रेडक्रस केन्द्रीय कार्यालयका जुनियर युवा रेडक्रस विभागका बालकृष्ण सेढाईं र सङ्गठन विभागका नारायण लामिछानेले रेडक्रस गतिविधिमा युवाको भूमिका तथा सङ्गठनको सुदृढीकरणबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा काठमाडौँभित्रका १० उपशाखाका पदाधिकारीको सहभागिता थियो ।
रेडक्रसका सात सिद्धान्तको वाचन गरी प्रारम्भ गरिएको उक्त गोष्ठी विपद्का बेला युवालाई परिचालन हुन ,उत्प्रेरणा दिन र विशेष मार्ग निर्देश गर्न सफल भएको आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्