स्ववियु निर्वाचन धरापमा



कृष्णउदास खनाल, वीरगन्ज
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको यही फागुन १८ गते हुने कार्य तालिकासमेत सार्वजनिक गरे पनि वीरगन्जको सबैभन्दा पुरानो ठाकुरराम बहुमुखी क्याम्पसमा भने निर्वाचन तोकिएकै मितिमा हुने संभावना कम देखिएको छ।

जसले गर्दा निर्धारित समयमा नै हुने चुनाव धरापमा पर्ने संकेत देखिएको छ। विभिन्न विद्यार्थी संगठनले क्याम्पसमा गरेको तालाबन्दीका कारण तोकिएको समयमा स्ववियु कार्यतालिका अनुसार स्ववियु निर्वाचन प्रक्रिया शुरु नभएको कारण निर्वाचन अन्योलमा परेको हो।

अखिल क्रान्तिकारीले सर्वप्रथम क्याम्पसमा तालाबन्दी गरेको थियो। माघ १४ गते आचारसंहिता लागू भएपछि क्याम्पसले स्नातक र स्नातकोत्तरतर्पm भर्ना लिएको कारण अखिल क्रान्तिकारीले तालाबन्दी गरेको स्ववियु निर्वाचनमा सभापति पदका दाबेदार प्रभाकर गुप्ताले बताए। माघ १४ गते आचारसंहिता लागू भएपछिको अवस्थामा पनि क्याम्पसले भर्ना लिएको कारण तालाबन्दी गरेको उनको भनाइ थियो। ठाकुरराम बहुमुखी क्याम्पसमा रहेका अन्य विद्यार्थी संगठनहरूले भने भर्ना हुनुपर्ने अडानसहित अखिल क्रान्तिकारीले लगाएको तालामाथि ताला लगाउने काम गरेको छ।

स्ववियु निर्वाचनमा उम्मेदवार दाबी गर्नेहरूमध्ये नै भर्ना हुन नसकेका कारण मधेसी विद्यार्थी संगठन, अखिल, नेविसंघ तथा अन्य संगठनहरूले क्याम्पसको प्रशासन, लेखा, अतिरिक्त क्रियाकलाप, परीक्षा शाखा, निर्वाचन आयुक्तको कार्यालय र क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका हुन्। विद्यार्थी संगठनहरूलाई राखेर तालाबन्दी खोलाउन क्याम्पसले गर्दै आएको प्रयास विफल भएपछि विद्यार्थी संगठनका माउ संस्था राजनीतिक दलका स्थानीय नेताहरूको भेला गराएर निकास निकाल्ने काम भइरहेको छ।

यद्यपि क्याम्पस प्रमुख प्रमोद कुशवाहाले निर्वाचन गराउन तयार रहेको जिकिर गरेका छन्। उनले विभिन्न राजनीतिक दलका पार्टी अध्यक्षहरूलाई सहमतिमा तालाबन्दी खुलाएर निर्वाचन प्रक्रिया सुचारु गर्न प्रयास भइरहेको बताए। तत्काल सहमति भए पनि तोकिएको मिति फागुन १८ गते स्ववियु निर्वाचन हुन सक्ने उनले बताए।

स्ववियु निर्वाचन कार्यतालिका अनुसार फागुन १ गतेदेखि दर्ता, मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको प्रक्रिया सुचारु छ। तर क्याम्पसमा विद्यार्थी संगठनहरूले नै तालाबन्दी गरेको कारण क्याम्पसको निर्वाचन तोकिएको समयमा हुने सम्भावना क्षीण देखापरेको हो। क्याम्पसमा १५ वटा विभिन्न विद्यार्थी संगठनहरू छन् भने करिब चार हजार ५ सय विद्यार्थी छन्।

यता, स्ववियु निर्वाचनअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (नर्सिङ क्याम्पस) वीरगन्जमा स्ववियु निर्वाचन प्रक्रिया त्रिविविको कार्यतालिका अनुसार सुचारु छ। प्रमुख निर्वाचन आयुक्त प्रमिला गौरोले उम्मेदवारी दर्ता भएको बताइन्। सभापति पदमा प्रत्यक्षतर्पm अखिल र नेविसंघका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् भने समानुपातिकतर्पm अखिल क्रान्तिकारी र नेविसंघले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख निर्वाचन आयुक्त गौरोले सभापति पदमा अखिलबाट सुनीता यादव र नेविसंघबाट प्रशंसा पाण्डेले उम्मेदवारी दर्ता गराएको बताइन्।

प्रतिक्रिया दिनुहोस्