ढिलो हुँदा आलोचनाः मन्त्री

0
Shares

काठमाडौं, (नेस)
शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा नियमावली ढिलो भएकोमा सबैतिरबाट आलोचना भइरहेको स्वीकार्नुभएको छ। उहाँले सबै निकायसँग छलफल गरेर ल्याउन लाग्दा केही ढिलो भएको बताउँदै अब चाँडै नै नियमावली आउने उल्लेख गर्नुभयो। अधिकांश कार्यक्रममा शिक्षा नियमावली चाँडै नै आउने बताउँदै आउनुभएका मन्त्री पौडेलले अझै कति साता लाग्छ भन्ने विषय उल्लेख गर्नुभएन। उच्च मावि संघ नेपाल (हिसानले) आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालमा उमावि हटिसकेको अवस्थामा हिसानको नाम परिवर्तन गर्नुपर्ने बताउनुभयो। ‘सबै उमाविलाई मावि बनाएका हौं, अब उमावि छैनन्’ –उहाँले भन्नुभयो। निजी शिक्षाका कारण मुलुकको शैक्षिक क्षेत्र विकास भएको उल्लेख गर्दै यसको श्रेय हिसानलाई पनि जाने बताउनुभयो।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले नियमावली आएपछि उमाविको विषय स्पष्ट हुने बताउनुभयो। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्र कोइरालाले निजी विद्यालय सञ्चालन गर्न छुट्टै ऐनको आवश्यक रहेको औंल्याउनुभयो। उहाँले भन्नुभयो– ‘सरकारले नेपालको शिक्षा क्षेत्रको विकासमा निजी उमाविले खेलेको भूमिका बिर्सिएको छ, त्यस्तो अवस्था आए उनीहरू आन्दोलनमा जान बाध्य हुनेछन्।’ राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दिल्लीराम रिमालले बोर्डले परीक्षासम्बन्धी विषय मात्र हेर्ने भएकाले अन्य विषयमा मन्त्रालय र शिक्षा विभागले ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवाल, वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, महासचिव लोकबहादुर भण्डारीलगायतले बोल्नुभएको थियो।

भेलाले हिसानको नाम परिवर्तन गरेर प्रारम्भिक कक्षादेखि विश्वविद्यालयसमेत समेट्ने गरी नाम परिवर्तन गर्ने भएका छन्। भेलामा महासचिव भण्डारीले प्रस्तुत गर्नुभएको सांगठनिक र कोषाध्यक्ष तीर्थ पोखरेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो। संगठनले २४ बुँदे कार्यदिशासमेत पारित गरेको छ।

Skip This